
सुर्खेत- सुर्खेतको बराहताल तथा चौकुने गाउँपालिकाले जिल्ला प्रहरी कार्यालयलाई ५ वटा टीभी उपहार स्वरूप प्रदान गरेको छ ।
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले हिरासतमा रहेका कैदीहरूलाई सूचना प्रसारणमा सहज होस् भनेर टीभी प्रदान गरिएको जानकारी दिए । ‘कैदी बन्दीलाई सूचना प्राप्त गर्न सहज होस् र उनीहरू सुध्रिन सकून् भन्ने सोचका साथ हामीले टीभी हस्तान्तरण गरेका हौं,’ उनले भने, ‘अब कैदीहरूले पनि सहजै सूचना पाउने तथा मनोरञ्जनात्मक कार्यक्रम हेर्न सक्ने छन् । उनीहरूलाई समय बिताउने एक माध्यम बन्ने छ ।’
कार्यालयलाई चौकुने गाउँपालिकाले दुई वटा तथा बराहताल गाउँपालिकाले तीन ओटा एलईडी टीभी हस्तान्तरण गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले गाउँपालिकाले दिएको सहयोगले हिरासतमा बसेकाहरूलाई राहत पुग्ने बताए । ‘अब हिरासतमा बसेका कैदीहरूलाई सूचना प्राप्त गर्न सहज हुने मेरो अपेक्षा हो,’ उनले भने, ‘गाउँपालिकाले दिएका पाँच ओटा टीभीलाई ५ वटा हिरासत कक्षमा राखेका छौं । आगामी दिनमा पनि स्थानीय तहबाट सहयोगको अपेक्षा गर्दछौं ।’