
विराटनगर– पछिल्लो समय विराटनगरमा मोटरसाइकल चोरी हुने क्रम बढेको छ । एक बर्षभित्र ३ जना पत्रकारका मोटरसाइकल चोरले चोरेर बेपत्ता पर्यो । रातको समय कार्यालयमा कामको सिलसिलामा गएको अवस्थामा पार्किङमा राखिएका उनीहरुका मोटरसाइकल चोरी भएका थिए ।
तर यसरी चोरी हुने मोटरसाइकल कहाँ जान्छ भन्ने बारेमा प्रहरी नै अनभिज्ञ थियो । अनुसन्धनको क्रममा प्रहरीले एकै पटक ५ जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा सिरहाका विजयकुमार यादव, सुनसरीका मनोजकुमार चौधरी, विराटनगरका अनुज यादव र सोनेलाल महतो र सिरहाका सुनिल यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीले विजयको घरको कम्पाउण्डभित्र लुकाइ राखेको अवस्थामा स ५ प ३३३९ नं को रातो कालो रङको मोटरसाइकल समेत बरामद गरेको छ ।
त्यस्तै घरको पछाडी कम्पाउण्डभित्र नम्बरप्लेट नभएको अवस्थामा लुकाएर राखिएको रातो कालो रंगको पल्सर मोटरसाइकल समेत गरी दुईवटा मोटरसाइकल प्रहरीले पक्राउ गरेको हो । सिरहा जिल्ला लहान नगरपालिका ६ घर भई हाल विराटनगर ४ सप्तकोशी मार्गमा एक घरमा डेरा गरी बस्दै आएका बिजय मोटरसाइकल चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
सोही स्थानबाट मोटरसाइकलको रङ परिवर्तन गर्न प्रयोग गरिने स्प्रेहरू, बिभिन्न साइजका रेन्च, मोटरसाइकलका पार्टपुर्जा, मोटरसाइकलको नंम्बर प्लेट लगाएत सामग्रीहरू समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । उनले दिएको जानकारीका आधारमा मोटरसाइकल चोरीमा संलग्न बर्जु ५, अमाहीवेलाहा चोक घर भई हाल विराटनगर ५ बरगाँछी चोकमा बस्ने मनोज कुमार चौधरीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
विराटनगर महानगरपालिका १२ कोशी प्रोजेक्टबाट स १० प ३५०१ नम्बरको रातो कालो मोटरसाइकल चलाइ रहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले चलाएको सो मोटरसाइकलको वास्तविक नंम्बर को ३५ प ९७६३ रहेको अनुसन्धानवाट खुलेको एसपी केसीले बताए । त्यस्तै, बिजयसंगै बरामद भएको स ५ प ३३३९ नं को मोटरसाइकलको वास्तविक नम्बर को २५ प ५२५१ रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
सो मोटरसाइकल २०७५ फागुन १८ गते राती विराटनगर ४ नोवल अस्पतालको मोटरसाइकल पार्किङबाट चोरी भएको भनी खोजतलास गर्न विराटनगर ४ ईक्राईका सुसान्त यादवले प्रहरीमा निवेदन दिएका थिए । त्यस्तै पक्राउ परेका मध्य विजय कुमार यादव विराटनगरमा एमविविएस अध्ययरत विद्यार्थी भएको पनि प्रहरीले जनाएको छ । मनोज कुमार चौधरी एक मिडिया हाउसका फोटो तथा भिडियो पत्रकार हुन् ।
त्यस्तै को २८ प ७९७४ नम्बरको मोटरसाइकल खोजतलास गर्ने क्रममा प्रहरी टोलीले विराटनगर १४ जतुवावाट अनुज यादव र सोनेलाल महत्तोले चलाइ रहेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ परेको मोटरसाईकल बिराटनगर ४ ईक्राई बस्ने विरेन्द्र यादवको घरबाट चैत गते हराएको पनि प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले चैत ९ गते विराटनगर महानगरपालिका ५ चाँदनीचोकबाट को ३७ प ३१२० नम्बरको मोटरसाइकल सहित सिरहा नगरपालिका २२ का सुनिल यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ब्यक्तिको सन्दर्भमा मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को चोरी कसुर अन्तर्गत अदालतबाट म्याद थप गरी कारवाही प्रक्रिया अगाडी बढेको एसपी केसीले बताए ।