
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।
६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका पिता पनि थिए । दुर्घटनामा तीनैजनाको मृत्यु भएको छ ।
नातालिया र उनका पति भ्लादिस्लाभ फिलेवा एस७ एयरलाइन्सका कोओनर थिए ।
नातालियासँग ६० करोड डलर बराबरको सम्पत्ति थियो । परिवारमा भ्लादिस्लाभबाहेक चार बच्चा पनि छन् । तीमध्ये एक धर्मपुत्री थिइन् ।
रुसको नागरिक उड्डयन क्षेत्रमा यात्रीहरूका लागि सुविधा र सुरषा बढाउन जोड दिएका कारण नातालियालाई आइरन लेडी भनिन्थ्यो ।
नातालिया आफ्ना पितालाई उपचार गराउन फ्रान्सबाट जर्मनी जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटना परेको विमान साइबेरिया एयरलाइन्सको हो र यो रुसको दोस्रो सबभन्दा ठूलो एयरलाइन्स कम्पनी हो । कम्पनीसँग ९६ विमान छन् ।
संसारका २६ देशका १८१ शहरमा यो एयरलाइन्सले सेवजा दिन्छ । रुसको सबभन्दा ठूलो विमान कम्पनी एयरोफ्लोटको यो नै सबभन्दा ठूलो प्रतिद्वन्द्वी हो । एयरोफ्लोट चाहिँ सरकारी कम्पनी हो ।
नातालियाले रुसमा व्याप्त भ्रष्टाचारविरुद्धको अभियानमा संलग्न थिइन् । एकपटक उनले भनेकी थिइन्, ‘तपाईं अधिकारीहरूलाई सोध्नुस् न, एक हजार डलर पर्ने जुत्ता र सुट किन्नका लागि पैसा कहाँबाट ल्याउँछन् ।’
नातालिया र उनका पति एयरलाइन्सका स्टाफमाझ निकै लोकप्रिय थिए । कर्मचारीहरू उनलाई आमा र बुवा भनी बोलाउँथ्यो । नातालियाको मेहनत र दूरदर्शिताले नै एयरलाइन्सको सफलता निर्धारित गरेको विशेषज्ञहरू बताउँछन् ।
एजेन्सी