२९ जेठ २०८३, शुक्रबार

रणनीति बनाउन कांग्रेस जिल्ला सभापतिहरूको भेला

रणनीति बनाउन कांग्रेस जिल्ला सभापतिहरूको भेला

काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले आफ्ना माग पूरा गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले अनौपचारिक भेलाको आयोजना गर्दैछन् । भेलामा मुख्य रुपमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषयलाई जोड्दार साथ उठाइने बताइएको छ । 

बुधबारदेखि काठमाडौँमा हुन लागेको दुईदिने भेलामा पार्टीको संस्थापन पक्षका सभापतिको भने उपस्थिति नहुने बताइएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष निकट मानिने नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जिल्ला सभापतिको भेला बुधबार हुन लागेको जानकारी दिँदै भन्नुभयो, “भेलामा महासमिति बैठकमा उठेका विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुन्छ ।” भेलापछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी हुने उहाँको भनाइ थियो । 

सो भेलालाई संस्थापन पक्षले भने केही जिल्ला सभापतिका अनौपचारिक भेट मात्र हो भनी टिप्पणी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्ष निकट मानिने भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जिल्ला सभापतिका भेला हुने भन्ने हल्ला भए पनि कुनै औपचारिक भेला नभएको बताउनुभयो । “केही साथीहरु बसेर छलफल गर्नुहुन्छ होला सभापतिको भेला भने छैन्,” उहाँले भन्नुभयो । 

काठमाडौँका जिल्ला सभापति कृष्णसवुज बाँनियाले जिल्ला सभापतिको औपचारिक भेला नभए पनि सबै जिल्ला सभापति उपस्थिति भई छलफल हुने जानकारी दिँदै औपचारिक उद्घाटन भने नहुने बताउनुभयो । साङ्गठनिक गतिविधिका सम्बन्धमा पार्टीले लिनुपर्ने निर्णयबारे छलफल हुने उहाँले बताउनुभयो ।     

काङ्ग्रेस महासमिति बैठकको भावनाअनुसार पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय जिल्ला सभापतिहरुको आरोप छ । काङ्ग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठेपनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो । 

उक्त दुई मागका सम्बन्धमा सबै जिल्ला सभापतिका सहमति भए पनि संस्थापन इतर पक्षले आफ्नो मात्र माग हो भन्ने जसरी अतिरञ्जित गरेको भन्दै भक्तपुरका सभापति थापाले आपत्ति प्रकट गर्नुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्