
काठमाडौं– बारा र पर्सामा आइतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ । मङ्गलबारबाट सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा राहत वितरण गर्ने तीव्र भएको छ । अस्तव्यस्त जनजीवन क्रमशः सामान्य बन्दै छ ।
स्थानीय तहका सरकार प्रमुखहरूका अनुसार सुरुमा घाइतेको उपचार र मृतकको अन्तिम संस्कार पहिलो प्राथमिकता थियो भने अब खाना, नाना र छाना (आवास) को आवश्यकता छ । स्थानीय तहका प्रमुखहरुले प्रदेश र केन्द्र सरकारले पीडित परिवारका लागि आवास बनाइदिने व्यवस्थाका लागि आग्रह गरेका छन् ।
विनाशकारी हावाहुरीबाट फुसका घर, टाली, जस्तापाताले छाएका घर त पूरै नष्ट भएका छन् भने पक्की घरसमेत क्षतिग्रस्त भएका छन् । घरमा राखिएको अन्नपात प्रायः सबै नष्ट भएको छ, खेतबारीमा लगाएको गहँुु, मसुरो र रहरजस्ता बालीसमेत पूूरै नष्ट भएका छन् ।
सबैभन्दा बढी क्षति भएको बाराको फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले भन्नुुभयो, ‘‘साधारण घरको कुरै नगरौँ, ढलान गरेर बनाएको स्वास्थ्य चौकी भवनलाई ३० मिटर पर लगेर लडाइदिएको छ, बाली नाली केही छैन, गाछी (रुख बिरुवा) छैनन् र बत्ती पनि छैन ।’’ फेटाका वडा नं. १, ३, ६ र ७ वडामा ठूलो क्षति भएको छ ।
यहाँ २० जनाको निधन भएको छ र एक सयजना त अझै अस्पतालमा उपचारार्थ रहेको जानकारी अध्यक्षले दिनुुभयो ।, गोरखापत्रमा खबर छ ।