
काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरू आफ्ना माग पूरा गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले काठमाडौंमा भेला भएका छन् । बुधवार र विहीवार हुने बैठकका लागि जिल्ला सभापतिहरू काठमाडौं आएका हुन् ।
बैठकमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषयलाई जोडदार रूपमा उठाउने बारे छलफल हुने कांग्रेस काठमाडौंका जिल्ला सभापति सबुज बानियाँले बताए ।
'हाम्रा एजेन्डाहरू त प्रस्ट छन् नि !' बानियाँले लोकान्तरसँग भने, 'भेलामा महासमिति बैठकमा उठेका विषय र समसामयिक राजनीतिक विषयमा छलफल त हुन्छ नै तर त्यो भन्दा बढी महत्त्वपूर्ण एजेन्डा भनेको केन्द्रीय समिति सदस्यहरू वडाबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्याक्तिका लागि एकपटक मात्र हुनुपर्ने भन्ने हो ।'
बैठकपछि आफ्ना माग पूरा गर्न पार्टी नेतृत्वलाई दबाब दिन मागसहितको घोषणा पत्रसमेत जारी हुन सक्ने बानियाँले बताए ।
काठमाडौंको ठमेलस्थित एक होटलमा बोलाइएको बैठकमा संस्थापन पक्षका जिल्ला सभापतिको उपस्थितिको सम्भावना भने नगण्य रहेको स्रोतले जानकारी दियो । पार्टी अहिले कमजोर रहेको अवस्थामा नेतृत्वविरुद्ध कुनै मोर्चाबन्दी गर्न नहुने धारणा संस्थापन पक्षका जिल्ला सभापतिहरूको रहेको बताइएको छ ।
'पार्टी केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा गरेको निर्णयप्रति हाम्रो पनि असहमति छ,' संस्थापन निकट मानिने एक जिल्ला सभापतिले भने, 'तर यो या त्यो कारणबाट नेतृत्वलाई बदनाम गराउने विषयमा हाम्रो सहमति हुन सक्दैन । अग्रिम र विशेष नामको महाधिवेशनका बारेमा हामी छलफलमा जान तयार छैनौं ।' गत महिना ५६ जिल्ला सभापतिले विज्ञप्ति निकालेरै केन्द्रीय समितिको निर्णय नसच्चिए विशेष महाधिवेशन गर्नुपर्ने माग गरेका थिए ।
नुवाकोटका जिल्ला सभापति जगदीश नरसिंह केसी आफूहरूको मागमा कुनै पनि जिल्ला सभापतिको असहमति नरहेको जिकिर गर्छन् । बुधवार लोकान्तरसँग कुरा गर्दै केसीले भने, ' केन्द्रीय समितिका सदस्यहरू वडा समितिबाटै निर्वाचित भएर आउनुपर्ने र आरक्षण एक व्यक्तिले एकपटक मात्र पाउनुपर्ने मागमा कुनै जिल्ला सभापतिको विमति छ जस्तो मलाई लाग्दैन । यसअघिका भेलामा सबै सभापतिहरूले यी मागमा समर्थन जनाउनु भएको हो । आज शुरू हुने बैठकमा उहाँहरू पनि आउनुहुन्छ भन्ने मेरो विश्वास छ ।'
पार्टी नेतृत्वले आफैंले गरेको सहमति उल्ट्याएको केसीको आरोप छ । 'केन्द्रीय समिति बैठकले बहुमतका आधारमा महासमितिको म्यान्डेडलाई पनि अपमान गर्यो,' केसीले भने, 'हाम्रो भेला पहिलेका सहमतिलाई कार्यान्वयन गराउन हो, अन्य विषयमा हामी थप रणनीतिसहित छलफल गर्छौं ।'
गत पुसमा सम्पन्न महासमिति बैठकमा पनि विधानको विवादले चर्को रूप लिएपछि संस्थापन र असन्तुष्ट पक्षबीच केन्द्रीय सदस्यहरू पनि वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र समावेशी सहभागिता दोहोरिन नहुने सहमति भएको थियो । तर त्यो सहमतिलाई खारेज गर्दै गत फागुन १२ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केन्द्रीय नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने र समावेशी तथा समानुपातिकमा उम्मेदवार बन्न कुनै बन्देज नरहने गरी पुरानै व्यवस्थालाई पारित गरिसकेको छ ।
उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत ११ जनाले असहमति जनाएका थिए । उनीहरूले फरक मत राखेका हुन् । कांग्रेस केन्द्रीय समितिको बहुमतबाट पारित उक्त व्यवस्थाविरुद्धमा कांग्रेसका जिल्ला सभापतिहरूले पटक-पटक बैठक गर्दै आइरहेका छन् । जिल्ला सभापतिहरू एक भएर केन्द्रीय समिति बैठकको निर्णयलाई प्रतिवाद गरेको भनिएतापनि पछिल्लो समयमा संस्थापन पक्षका सभापतिहरू आफू पार्टीको निर्यणका पक्षमै रहेको बताउन थालेका छन् ।
यसमा टिप्पणी आवश्यक छैन - प्रकाशशरण महत
कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले यसबारे कुनै टिप्पणी गर्न आवश्यक नभएको बताएका छन् । 'उहाँहरूसँग कुनै कामले भेला, बैठक या मिटिङ गर्ने छूट छ,' महतले भने, 'यदि त्यो पार्टीले आधिकारिक रूपमा आयोजना गरेको कार्यक्रम होइन भने मेरो कुनै पनि टिप्पणी छैन । यो भन्दा अगाडि हेटौंडा र काभ्रेमा भएका जिल्ला सभापतिहरूको बैठक पार्टीको आयोजनामा भएका औपचारिक बैठकहरू थिए ।'
व्यक्तिगत भेला, बैठकमा सबै सभापतिहरू सहभागी नहुने महतले बताए । यो बैठक आवश्यक र औचित्यपूर्ण नरहेको उनको टिप्पणी छ ।
पार्टीको महासमितिले निर्णय गर्नुपर्ने कुरा जिल्ला समितिले गरेर नहुने संस्थापन पक्षका नेताहरूको भनाइ छ । यसरी बारम्बार व्यक्तिगत आयोजनामा भेला, बैठक गरेर कमजोर पार्टीलाई झन् कमजोर बनाउन खोजेको आरोप उनीहरूले लगाएका छन् ।
यसअघि केन्द्रकै पहलमा असारको पहिलो साता औपचारिक रूपमा जिल्ला सभापतिहरूको राष्ट्रिय सम्मेलन मकवानपुरको हेटौंडामा आयोजना भएको थियो । यस्तै, गत मंसिरमा समेत संस्थापनइतर समूहको पहलमा नुवाकोटको ककनीमा भेला सम्पन्न भएको थियो ।