
बुटवल – नेकपाका नेता घनश्याम भुसालले अबको नेपालको शिक्षा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने बताएका छन् ।
रुपन्देहीको सियारी गाउँपालिका–६ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा बुधवार बोल्दै नेता भुसालले भने, ‘अबको नेपालको शिक्षा दिल्ली र चीनसँग प्रतिस्पर्धा गर्ने खालको हुनुपर्छ ।’
नेता भुसालले राज्यले शिक्षाको विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘विकास केही गिट्टी र बालुवा छर्केको भरमा भएको मानिँदैन । शिक्षाको विकास नै पहिलो विकासको आधार हो,’ उनले भने, ‘राज्य शिक्षाको विकासमा लागेको हुनाले अबको २० वर्षपछि नेपालका विद्यार्थी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने हुनुपर्छ ।’
कार्यक्रममा प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारले गर्नुपर्ने कामका लागि हरबखत तयार भएको बताउँदै विद्यालय र स्वास्थ्य चौकीको विषयमा संवेदनशील भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद नेपालले निजी विद्यालयभन्दा राम्रो गुणस्तरीय शिक्षा प्रदान गर्छाै भनेर अभिभावकलाई जानकारी गराउँदै सोही अनुरुपको शिक्षा प्रदानका लागि लागेको बताए ।