
काठमाडौं, ३ चैत — खतरनाक आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले हत्या गरेको एक बालिकाको शव खाल्डोबाट निकालेपछि एक इराकी सैनिकले आफ्नो आँसु रोक्न सकेनन् ।
ती बालिकाको लाश एउटा सामूहिक चिहानमा भेटिएको थियो । त्यहाँ २४ जना पीडितको मृत शरीर थिए र तीमध्ये अधिकांश बालबालिका थिए । आतंकवादी समूहबाट मोसुल शहर मुक्त गरेपछि इराकी सैनिकहरूले उक्त चिहानको उत्खनन गरेका थिए ।
कारुणिक तस्वीरहरूमा एक अज्ञात बालिकाको शव एउटा कम्बलमा बेरिएको अनि एकजना सैनिक चाहिँ चिहाननेर बसेर रोएको देखिन्छ ।
यी तस्वीरहरूले आईएसको शासनकालको भयावह वास्तविकतालाई उजागर गरेको छ । मोसुलमा उक्त आतंकवादी समूहले सुरक्षित स्थानमा भाग्न खोज्ने सर्वसाधारणलाई हत्या गरेर चिहानमा गाडेका थिए ।
इराकी सैनिकहरूले मोसुललाई मुक्त गर्ने क्रममा यो चिहान फेला पारेका हुन् ।
सेना तथा सुरक्षाबलहरूले हालैका दिनमा आईएसविरुद्ध महत्त्वपूर्ण विजय हात पारेका छन् । उनीहरूले तिग्रिस नदीमा रहेको एक प्रमुख पुलमाथि कब्जा गरेका छन् र आईएसको नेता अबु बक्र अल–बग्दादीले खिलाफत घोषणा गरेको पुरानो मस्जिदतर्फ बढिरहेका छन् ।
तर आईएसले आफ्नो अन्तिम सुरक्षित स्थानलाई सुरक्षा गरिरहेकाले लडाईं झन् चर्किने लक्षण देखिँदैछ ।
द डेली मेलबाट