
गाईघाट – उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाकाको दमौटीमा ३ वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गर्ने स्थानीय १५ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले ९ महिनाको जेलसजाय फैसला गरेको छ ।
मंगलबार जिल्ला न्यायधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका यौन दुव्र्यवहार गर्ने १५ वर्षीय बालकलाई ९ महिनाको जेलसजाय फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।
विक्रम संवत् २०७५ भदौ ३० गते बालकले ३ वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गरेपछि पीडितको अभिभावकको उजुरीमा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि बालकविरुद्ध जिल्ला अदालतमा यौन दुव्र्यवहारविरुद्ध मुद्दा चलेपनि ५० हजार रुपैयाँ धरौटीमा बाल तारेखमा रिहा भएका थिए ।
तर मंगलवार जिल्ला अदालतले बालकलाई ९ महिना जेल सजायको फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ । मुलुकी अपराधसंहिता ऐन, २०७४ को दफा २२५ (१) का अनुसार यौन दुव्र्यवहार गर्ने विरुद्ध डेढवर्ष जेलसजाय हुने प्रावधान रहेको र १५ वर्षीय अभियुक्त बालक भएका कारण आधा सजाय हुने गरी ९ महिना जेल सजाय तोकेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।
बालकलाई सजाय भुक्तानी गराउन ९ महिना सुधार गृहमा पठाइने पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।