
विराटनगर- बुधवारसाँझ झापाबाट पूर्वराजा ज्ञानेन्द्र शाहसहितका उनका सुरक्षा र आफन्त विराटनगर विमानस्थल हुँदै काठमाडौंका लागि फर्कियो । साँझको समयमा पूर्वराजा शाहलाई काठमाडौं पठाउनको लागि झापाबाट आएका उनका समर्थकहरू सहितका सुरक्षा निकायको टोली विराटनगर आयो ।
उनलाई विमानस्थल छाड्नका लागि केही गाडीहरू पनिसँगै झापाबाट आउँदै थियो । जब पूर्वराजा विराटनगर विमानस्थलबाट काठमाडौं गए अनि उनलाई छाड्न आएका केही गाडी झापा फर्कियो, केही काठमाडौंतर्फ लाग्यो । त्यो मध्येको एउटा गाडी विराटनगर विमानस्थलमा पूर्वराजाका ब्यागहरू छाड्नको लागि आएको कार गएराति मोरङको सुन्दर हरैचा नगरपालिका वडा नम्बर-४ बुधबारेमा दुर्घटनामा पर्यो ।
राति ९ बजे विराटनगर विमानस्थलमा राजालाई छाडेर फर्किँदै गर्दा बुधबारे चोकमा कारको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भयो १ जना घाइते भए । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई राति ९ बजे ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकलमा सवार वर्ष २२ को हेम चौधरीको नोबेल अस्पताल विराटनगर उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक इटहरी उप–महानगरपालिका–८ बस्ने वर्ष २२ को प्रकाश चौधरीको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले जानकारी दिए ।
एसपीका अनुसार पूर्वराजा चढेको गाडी नभई उनको सामान बोकेको गाडीले ठक्कर दिएको हो । उनी हिजो साँझ ६ : ४५ बजेको श्रीएयरबाट फर्किएका हुन् । राजाको गाडीको भरिया गाडीका चालक दिपेन्द्र लम्साल प्रहरीको नियन्त्रणमा रहेको एसपी केसीले बताए ।