
नमस्कार/नमस्ते पूर्वीय सभ्यतामा शिष्टाचारको विधि पु–याउने सहज शब्द हो । यो शब्द सर्वव्यापी छ नेपालमा । आफूभन्दा माथिको मान्यवर/पदलाई सम्मानस्वरूप नमस्ते भनेर वा गरेर अभिवादन गर्ने चलन छ । नमस्ते नखाइकन र नगरिकन कार्यालयमा कामको शुरूवात शायद हुँदैन । पदीय मर्यादा जोगाउने हिसाबले नमस्ते गरिएको हो ।

नमस्ते हात मिलाउनुभन्दा विज्ञानसम्मत भएको कुरा त स्वाइन फ्लुको बिगबिगी हुँदा सबैले जानेकै कुरो हो । जे होस्, नमस्ते शब्दको गरिमा उच्च छ भन्दा फरक नपर्ला । नमस्ते गर्ने मात्रै नभएर नमस्ते फर्काउनुपर्ने पनि हुन्छ । सबै नमस्तेबाट शुरू भएका वार्तालापको अन्त्य प्रिय नै हुन्छन् भन्ने छैन । कति ‘नमस्ते डाक्साप’ मा हर्षभन्दा तीतोपना मिसिएको अनुभूति हुन्छ ।
कार्यालयभित्रका कर्मचारीको नमस्ते आदानप्रदानपछि बिरामीको नमस्ते पनि मनग्गे खान पाइन्छ । सबै नमस्ते गरेर कुर्सीमा बसेका बिरामीले उपचार परामर्शपश्चात् नमस्तेको ठाउँमा मनमनै गाली गर्दा हुन् । नगरून् पनि किन ? संसारमा सरकारी अस्पताल त सबै निःशुल्क हुन्छ भनेर बारम्बार सुनेर आएका हुन्छन् उनीहरूले । एक प्रकारले भन्दा केही कुरा मात्र निःशुल्क हुने सम्प्रेषण भएपनि जनताले त निःशुल्क मात्रै सम्झिएको र सुनेको हुन्छ ।
शायद निःशुल्क भन्ने शब्द निकै लोकप्रिय, कर्णप्रिय र सुमधुर सुनिँदो हो । त्यसैले त यो व्यापक प्रयोग हुन्छ । भन्ने र सुन्नेले यो शब्दमा मात्रै जोड दिन्छ । तर सम्पूर्ण सेवाहरू निःशुल्क गर्ने क्षमता सरकारी अस्पातलहरूको छैन । नाफामुखी पो नहुने हो । अहिलेको अवस्थामा सम्पूर्ण निःशुल्क हुन पनि सक्दैन ।
बिरामी प्रकार १
पुराना पर्चा नल्याई ‘नमस्ते डाक्साप ! म त फेरि आएँ । अलि सन्चो लागेन’ भन्दै धेरै आउँछन् । सरकारी अस्पतालको ओपीडी पुर्जा दुईपाने हुन्छ । इएमको पुर्जा निःशुल्क गरेको धेरै वर्ष भयो । निःशुल्क हुनु त राम्रो हो । निःशुल्कको उपचारमा आफ्नोपन नहुने हो कि विश्वास नहुने भएर हो, बिरामीले त्यो निःशुल्क पुर्जामा लेखिएको परामर्श र उपचारको कदर गर्न जान्दैनन् । त्यसैले त औषधि हातमा परेपछि त्यो पुर्जा महत्त्वहीन हुन्छ । कच्याककुचुक पारिन्छ । त्यो पुर्जा भारी हुन्छ । त्यसको स्याहार हुँदैन । पुनः बिरामी भएर आउँदा वा अर्को डाक्टरलाई देखाउँदा त्यसको कुनै प्रमाण भेटिन्न ।
‘डाक्साप ! हरायो । बिर्सिइयो । हतारमा छुट्यो,’ भनेर सहजताका साथ सुन्नुपर्छ । जग्गाको लालपुर्जा नलगी मालपोतमा जान्छन् र ? अनि शरीरको लालपुर्जा चाहिँ कति सजिलो गरी बिर्सिने ! शायद निःशुल्क भएर हो कि ? थोरै शुल्क लागेमा सम्झिन्थे कि । हुन सक्छ आफ्नो मेडिकल रेकर्ड सुरक्षित राख्नुपर्छ भन्ने चेतना नभएको होला । जे भए पनि पुरानो पर्चामा के लेखिएथ्यो भन्ने त याद हुन गाह्रो हुन्छ । उही उपचार प–यो भने ‘काम छैन त्यो डाक्टरको’ भनिहाल्छन् ।
बिरामी प्रकार २
स्याँस्याँ गर्दै दमका बिरामी निःशुल्क औषधि पाइने आशाले अस्पातल आइपुग्छन् । वर्षौंको छिप्पिएको दमलाई सरकारले निःशुल्क दिने ‘साल्बुटामोल’को ट्याब्लेटले कति दिनसम्म उपचार हुनसक्ला र ? साल्बुटामलले (दममा प्रयोग हुने श्वासनली खुलाइदिने औषधि) केही वर्षको प्रयोगपछि काम गर्न छोड्छ । अनि त ‘नमस्ते, डाक्टर साप । अचेल त छोएन दबाइले’ भन्दै बारम्बार आउँछन् ।
केही औषधि किनेर सेवन गर्नुपर्छ भन्दा वृद्धलाई त निःशुल्क हैन र भनेर प्रतिवाद गर्छन् । सबैले मनमनै डाक्टरहरूले लुकाउँदा हुन् भन्ने ठान्छन् होला । विस्तारमा बुझाउन खोज्यो त सञ्चारमाध्यमलाई नपत्याएर कसरी पत्याउन्थे र अस्पताललाई ? कताबाट महिनाको लगभग दुई हजार रुपैयाँ लाग्ने दमको सबै औषधि निःशुल्कमा ल्याएर चित्त बुझाउने हो !
बिरामी प्रकार ३
बिरामी जाँचिसकेपछि थाइराइड जाँच गर्नुपर्छ भनेर भन्दा निःशुल्क हो भनेर सोध्छन् । निःशुल्क त छैन र यहाँ जिल्ला अस्पतालमा पनि हुँदैन भन्दा ‘नमस्ते डाक्साप ! त्यसो भए म बुटवल गएर चेक गराउँछु । साठी काट्यालाई पैसो लाग्दैन भन्थे,’ भनेर बिदा हुन्छन् । सबै प्रकारका ल्याबमा गरिने परीक्षण निःशुल्क गर्न अस्पतालले सक्दैन । त्यसैले त अस्पताल विकास समितिको निर्णय गरेर सेवा निरन्तर गर्न केही शुल्क तोकिएको हुन्छ । साधारण परीक्षणबाहेकको विशेष परीक्षण (जस्तै एफएलपी, टीएफटी)हरू लक्षित वर्गलाई निःशुल्क गर्न सक्ने कि नसक्ने भन्ने चुनौती छ ।
बिरामी प्रकार ४
‘नमस्ते डाक्साप ! मेरो प्रेसरको औषधि सकिएर आया हो । पाँच दिन भयो । अस्ति आउँदा यहाँ सकिएथ्यो । आयो कि ?’
उच्च रक्तचापको उपचार जडीबुटी र मुख बारेर गर्न खोज्नेको जमात अझै प्रशस्तै छ । बल्लतल्ल परामर्श गरेर औषधि निःशुल्क पाइन्छ भनेर सेवन गर्न मनायो । नियमित सधैं नछोडी खानुपर्ने प्रेसरको औषधि बेलामौकामा ‘सप्लाई’ सकिएर तनाव हुन्छ । कताबाट त्यो निःशुल्क सदाबहार नियमित उपलब्ध हुने हो ! प्रेसरलाई काम गर्ने औषधि ‘यम्लोडिपिन’ नामको औषधि सरकारले निःशुल्क दिने गरेको छ । यो कुरा सराहनीय छ । तर एउटा औषधिले प्रेसर नियन्त्रण नभएर अर्को थप्नुप–यो भने निःशुल्क पाइँदैन । निःशुल्क शब्दको छाप बसेको बिरामीले किन्न धौधौ पर्छ । ‘निःशुल्क’ शब्दले सम्पूर्ण परामर्शजति ओझेलमा पर्दा हुन हुन् ।
डा. खनाल
संविधानले आधारभूत स्वास्थ्य सेवासम्बन्धी हकको बारेमा प्रस्टै बोलेको छ । निःशुल्क सेवा दिन सक्नु त राज्यको लागि गौरवको विषय हो । तर निःशुल्क शब्दलाई धेरै हल्का रूपले लिएर प्रचार गरिँदा सोझो सम्पर्कमा बसेर काम गर्नुपर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई जनताको आशाअनुसार सेवा पु–याउन नसक्दा अविश्वासको वातावरण सिर्जना भएको छ । र स्वास्थ्य सेवाको प्रभावकारिता जनता र सेवाप्रदायकबीचको विश्वासले मजबुत हुन्छ । वर्तमान अवस्थामा जनतामा आशा धेरै बाँडिएको र आशाअनुरूप कार्यसम्पादन हुन नसक्दा जनताबाट ‘नमस्ते डाक्साप’को लवजमा तीतोपना मिसिँदै गएको अनुभव हुन थालेको छ ।