२५ जेठ २०८३, सोमबार

सुडानका राष्ट्रपतिलाई सत्ताबाट हटाइने संकेत, सेनाले वक्तव्य निकाल्ने

सुडानका राष्ट्रपतिलाई सत्ताबाट हटाइने संकेत, सेनाले वक्तव्य निकाल्ने

काठमाडौं – अफ्रिकी मुलुक सुडानको सेनाले राष्ट्रपति ओमर अल–बशिरका विरुद्ध भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा एउटा घोषणा गर्ने जनाएको छ । 

सेनाको सन्देशले सुडानीहरूमाझ खुशीको लहर ल्याएको छ । उनीहरूले राष्ट्रपतिविरुद्ध कू गरिएको विश्वास लिएका छन् । 

तर के भइरहेको हो भन्ने स्पष्ट छैन । 

राजधानी खार्तूममा हजारौंले जुलुस निकालेका छन् । केहीले नारा लगाइरहेका छन्, ‘गयो, गयो, हामीले जित्यौं ।’

बशिरविरुद्ध महिनौंदेखि विरोध भइरहेको थियो । उनले सन् १९८९ देखि सुडानमा शासन चलाउँदै आएका छन् । 

पछिल्लो विरोध प्रदर्शन महंगी बढेका कारण भइरहेको थियो । त्यही प्रदर्शन सरकारविरुद्धको आन्दोलनमा परिणत भएको हो । 

बिहीवार बिहानै सैन्य गाडीहरू खार्तूममा रहेको ठूलो प्रांगणमा प्रवेश गरेको देखिएको थियो । उक्त प्रांगणमा रक्षा मन्त्रालय, जंगी अड्डा र राष्ट्रपति बशिरको निवास रहेको एएफपीले लेखेको छ । 

उक्त प्रांगणमा दशौं हजार विरोधकर्ताहरूले धर्ना दिइरहेका छन् । उनीहरू बशिरलाई हटाउन सेनालाई आग्रह गरिरहेका छन् । 

सैनिकहरूले बशिरको इस्लामिक मुभमेन्ट संगठनमा पनि छापा मारेका छन् र राजधानीका प्रमुख स्थानमा तैनाथ गरिएका छन् । 

तर सुडानको सरकारी समाचार संस्थाले देशका सबै राजनीतिक बन्दीलाई रिहा गरिएको समाचार दिएको छ ।

सरकारी टीभी र रेडियोले आफ्नो नियमित कार्यक्रम रोकेर सेनाले वक्तव्य जारी गर्ने सन्देश प्रसारण गरेका छन् ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्