
काठमाडौं – भारतको उत्तर प्रदेशको राजधानी लखनउमा रहेको बिजली पाली राजकीय पीजी कलेजमा सञ्चालन भइरहेको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नू) को अध्ययन केन्द्रको वातावरण बिहीवार अलिक फरक थियो ।
बिहान ११ बजे भोजन एवं पोषण सर्टिफिकेट कोर्सको कक्षा शुरू हुन लागेको थियो र सबैको आँखा कोठाको ढोकामा थियो । केही क्षणपछि प्रतीक्षाको घडी सकियो र कक्षाकी सबभन्दा ज्येष्ठ विद्यार्थी लक्ष्मी श्रीवास्तवले प्रवेश गरिन् ।
उनी आउनेबित्तिकै विद्यार्थी र शिक्षक सबैले उभिएर ताली बजाउँदै स्वागत गरे ।
यति वृद्धावस्थामा पनि पढाइप्रति उनको मोह देखेर सबैजना आश्चर्यचकित भए । विद्यार्थीहरूसँग भेटघाट गरेर लक्ष्मीले आफ्नो परिचय दिइन् र विद्यार्थीहरूले पनि उनलाई हजुरबुवा हजुरआमालाई जत्तिकै प्रेम दिए ।
आस्था ओल्ड एज अस्पतालमा बस्ने लक्ष्मीले इग्नूको भोजन एवं पोषण सर्टिफिकेट कोर्समा भर्ना लिएकी छन् । बिहीवार उनी पहिलो कक्षा लिन इग्नू केन्द्र पुगेकी थिइन् ।
उनको हातमा परिचयपत्र, भर्नाको कन्फर्मेसन लेटर र अनुहारमा मुस्कान थियो । क्लास पुगेर उनले आफ्नो परिचय दिइन् ।
उनले बताइन्, म पहिले शिक्षिका थिएँ र रिटायर भएपछि आस्था आस्था एज अस्पतालमा बस्छु ।
लक्ष्मीले संस्कृत र भूगोलमा स्नातकोत्तर गरिसकेकी छन् ।
क्लासमा लक्ष्मीले परामर्श कक्षामा पढाइएका विषयलाई ध्यानपूर्वक सुनिन् र विषय विशेषज्ञ र विद्यार्थीसँग संवाद पनि गरिन् । त्यसबाहेक उनले क्लासमा आफ्ना साथीलाई पढाइका टिप्स पनि दिइन् ।
कक्षामा प्रवेश गर्नुअघि हरेक विद्यार्थीले आफ्नो अध्ययन सामग्रीलाई राम्ररी पढ्नपर्ने अनि मात्र उनीहरूले पढाइने विषय बुझिने उनको भनाइ छ ।
उनले जुन महिनामा हुने परीक्षाको फारम भरेर बुझाइसकेकी छन् ।
एजेन्सी