१२ असार २०८३, शुक्रबार

सुडानमा लोकतन्त्र समर्थकहरूको आन्दोलन जारी, सैन्य कूको विरोध

सुडानमा लोकतन्त्र समर्थकहरूको आन्दोलन जारी, सैन्य कूको विरोध

काठमाडौं – सुडानमा लोकतन्त्रको समर्थन गर्दै चार महिनासम्म सडकमा प्रदर्शन गरेका प्रदर्शनकारीहरूले देशको तानाशाह राष्ट्रपतिलाई हटाउने सेनाको विरोध गरिरहेका छन् । 

बिहीवार सेनाले राष्ट्रपतिलाई अपदस्थ गरेको थियो तर सत्ता आफैं लिएको थियो । 

हजारौं आन्दोलनकारीहरू राजधानी खार्तूममा रहेको जंगी अड्डाबाहिर बिहीवार रातिदेखि शुक्रवार बिहानसम्म पनि धर्ना दिइरहेका छन् । राष्ट्रपति ओमार अल–बशिरलाई सेनाले पक्राउ गरेर निषेधाज्ञा लगाएपनि धर्नाकारीहरू धर्नामा बसेका थिए । 

प्रदर्शनका आयोजकहरूले आन्दोलन जारी रहने बताए । सेनाले विरोधकर्ताहरूविरुद्ध कुनै कदम चाल्ने नचाल्ने कुरा स्पष्ट हुन सकेको छैन । 

भीडले राष्ट्रपतिलाई अपदस्थ गरिएकोमा खुशियाली मनायो । विरोधकर्ताहरूले संगीत बजाएर मूर्दाबादको नारा लगाए । उनीहरूले रक्षामन्त्री अहमद अवाद इब्न औफलाई मूर्दाबाद भनेका हुन् । औफले डार्फुरमा नरसंहार मच्चाएको आरोपमा अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको छ । 

औफलाई नयाँ सैन्य संक्रमणकालीन परिषद्को प्रमुखका रूपमा शपथ गराइएको छ । उक्त परिषद्ले अबको दुई वर्ष सरकार चलाउने जनाएको छ । 

बिहीवार टीभीबाट सम्बोधन गर्दै औफले सत्तापलट भएको घोषणा गरे अनि बशिरलाई सुरक्षित स्थानमा हिरासतमा राखिएको बताए । बशिरले तीन दशकसम्म सत्ता चलाएका थिए । 

खार्तूमले संयम अपनाउनुपर्ने र सरकारमा नागरिक संलग्नताको स्थान बनाउनुपर्ने वाशिङटनले बतायो । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता रोबर्ट पाल्लाडिनोले पत्रकारहरूलाई बताए, ‘सुडानीहरूले आफ्नो नेतृत्व कसले गर्छ भनी निर्धारण गर्नुपर्छ र सुडानीहरू नागरिकको नेतृत्वमा रहेको संक्रमणका विषयमा स्पष्ट छन् ।’

युरोपेली संघले तत्कालै नागरिक शासन बहाल गर्न सेनालाई आग्रह गरेको छ । 

औफले देशका सीमा र एयरस्पेस अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिने बताए । पछि उनले  परिषद् प्रमुखको शपथ लिएको कार्यक्रम सरकारी टीभीबाट प्रसारण गरिएको थियो ।

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्