
काठमाडौं – चीनले लाखौं युवा स्वयंसेवकहरूलाई गाउँ पठाउने योजना बनाइरहेको छ । अध्यक्ष माओले ५० वर्षअघि चलाएको क्रूर सांस्कृतिक क्रान्तिकै पुनरावृत्ति हुने डर यसबाट उत्पन्न भएको छ ।
कम्युनिस्ट युथ लीगले एक करोडभन्दा बढी विद्यार्थीलाई सन् २०२२ सम्म ग्रामीण क्षेत्रहरूमा पठाएर उनीहरूको क्षमता बढाउन, सभ्यता विस्तार गर्न अनि विज्ञान र प्रविधि प्रवर्द्धन गर्न प्रतिज्ञा गरेको कम्युनिस्ट पार्टीको दस्तावेजमा उल्लेख छ ।
ठूला शहरका जीवनप्रति आकर्षित हुन खोज्ने प्रतिभाशाली व्यक्तिहरूलाई ग्रामीण क्षेत्रमा लग्ने लक्ष्य रहेको दस्तावेजमा उल्लेख छ र यसलाई सरकारी पत्रिका ग्लोबल टाइम्सले बिहीवार प्रकाशित गरेको छ ।
‘गाउँको परम्परागत विकास नमूनामा नयाँ आविष्कार गर्नका लागि सहयोग गर्न विज्ञान र प्रविधिको उपयोग गर्न युवाहरू हामीलाई आवश्यक छन्,’ हुनान प्रान्तको एक गाउँका उपप्रमुख झाङ लिनबिनले बताए ।
विद्यार्थीहरूलाई गर्मीको बिदाका बेलामा गाउँमा बस्न लगाइनेछ तर युवाहरूलाई स्वयंसेवा गर्न कसरी विश्वस्त तुल्याइनेछ भनी लीगले बताएन ।
उसका अनुसार, पूर्व क्रान्तिकारी आधारइलाका, चरम गरीबीमा रहेका क्षेत्र अनि अल्पसंख्यक जनजाति बस्ने क्षेत्रले उच्च प्राथमिकता पाउनेछन् ।
राष्ट्रपति शी चिनफिङलाई माओयुगप्रति लगाव छ । उनले १६ वर्षको उमेरमा गरीब शान्शी प्रान्तमा रहेको एक गाउँमा सात वर्ष बिताएका थिए ।
द गार्डियनबाट