०८ असार २०८३, सोमबार

सानैदेखि उद्यमशील बन्ने सोच : गन्तव्यतिर लम्किँदै प्रतिभा

सानैदेखि उद्यमशील बन्ने सोच : गन्तव्यतिर लम्किँदै प्रतिभा

विराटनगर – प्रतिभा रिजालको जन्म विराटनगरमा भयो । उनले स्थानीय अरनिको विद्यालयमा माविसम्म पढेर विराटनगरको कोशी कलेजबाट स्नातक गरिन्

प्रतिभा सानैदेखि व्यवसायी बन्ने सोचमा थिइन् । प्रतिभाले विराटनगरमा नै बुट्टेदार मैनबत्ती बनाउने काम  गर्थिन् । ११ र १२ कक्षामा पढ्दै गर्दा २ जना साथी मिलेर मैनबत्ती बनाउने काम थाले । १–१ हजार जम्मा गरेर शुरू गरेको मैनबत्ती बनाउने काम उत्पादनलाई बजारसम्म पुर्याउन नसक्दा उनका लागि सिकाइ मात्र बन्यो । 

उनका हजुरबुवा उद्यममा थिए भने बुवा केदार रिजाल पनि उद्योगी नै हुन् । उनलाई पारिवारिक अवस्थाले पनि उद्यमशीलतातर्फ अग्रसर गरायो । स्नातकोत्तर गर्दै गर्दा उनको विवाह भयो र उनी विवाह सकेर पतिसँग दिल्ली गइन् ।

उनले दिल्लीमा पनि व्यवसाय नै गर्न सिकिन् । पारिवारिक अवस्था सम्पन्न भएकाले पनि उनलाई पैसाको त अभाव थिएन नै तर पनि आफैंले केही गर्नुपर्छ भन्ने भावना उनमा थियो । 

पढाइको सिलसिला सकेर जब उनी नेपाल फर्किइन्, उनलाई त्यत्तिकै बस्नै मन लागेन र उनले पानी उत्पादन गर्ने कम्पनीमा नै काम गर्न थालिन् ।

घर परिवारका सबै सदस्य जागिर खानुपर्छ भन्ने मान्यताबाट अगाडि बढेकाले प्रतिभाले पनि जागिर नै खानुपर्छ भन्ने ठान्थे । तर प्रतिभा जागिर खानुभन्दा व्यापारमा फाइदा देख्थिन् ।

संघर्षको यात्रा

११ कक्षामा पढ्दादेखि नै उद्यमशीलतालाई मन पराएकी उनले मैनबत्ती, कुसन–कभर, बेड कभर, पानीको फ्याक्ट्री सञ्चालन गरिन् र पछि मात्र नूडल्स एमएमएन उद्योग सञ्चालनमा हात हालिन् ।

उनले विगत ५ वर्षदेखि एमएमएन नूडल्स उद्योग सञ्चालन गर्दै आएकी छन् । उनी उद्यमी बन्नुलाई रमाइलो मान्छिन् । उद्यमी बन्ने सानैदेखिको चाहना भएकी प्रतिभा अहिले संघर्षको मैदानमा छिन् । उनले उद्योग सञ्चालनमा ल्याएपछि शुरूमा १ जना मान्छे राखेर काम थालेकी थिइन् । अहिले उनको उद्योगमा ६ जना कामदार छन् ।

उद्यम त सञ्चालन गरिन् तर बजारले हेर्ने दृष्टिकोण नै फरक थियो । उनलाई बजारमा प्रवेश पाउनै मुस्किल भयो । बाहिरका उत्पादित सामग्री किन्न रुचाउने तर विराटनगरमै उत्पादन भएको बस्तु तथा सामग्री किन्नै नरुचाउने चलनले उनलाई विचैमा फ्याक्ट्री नै बन्द गर्ने कि भन्ने पनि लाग्यो । 

दिल्लीबाट मेसिन ल्याएर काम थालेकी प्रतिभाको त्यो मेसिन कामै नलाग्ने अवस्थामा पुग्यो । त्यसपछि विराटनगरमै अर्को मेसिन किनिन्, त्यसले काम त गर्यो तर गुणस्तरमा ध्यान दिनुपर्ने थियो । उनले  फेरि कोलकाताबाट अर्को मेसिन ल्याइन् ।

आफैंले केही गर्नुपर्छ भनेर व्यवसायमा लागेकी प्रतिभालाई पारिवारिक साथ भएपनि व्यापारमा निकै नै समस्या भयो । मैनबत्ती बनाउने क्रममा साथीसँग कुरा नमिल्दा समस्या पर्ने रहेछ भन्ने सिकेकी उनले नूडल्समा एक्लैले १५ लाख रुपैयाँ लगानी गरिन् र एक्कैले चलाउन सकिन्छ भन्ने उदाहरण बनेर देखाइन् । 

प्रतिभाले भनिन्, ‘एउटै व्यवसायमा सफल हुन नसक्नुको कारणमा उत्पादित सामग्री घरभित्रै मात्र सीमित रहने र बजारमा लैजान नसक्दा सीप नै परिवर्तन गर्नुपर्यो ।’

घरेलु उत्पादनमा लेवल

उनले बजारमा आफूलाई उभ्याउनुभन्दा पहिलासम्म विना लेवलका चाउमिन र थुप्पाको बजार थियो । त्यो लेवलको व्यवस्थापनको कामको शुरूवात आफूले नै गर्नुपर्छ भन्ने लागेर शुरू गरेको उनको अनुभव छ । ‘केही गर्ने हो भने त्यसका लागि बजारमै जानुपर्ने रहेछ भन्ने नै लाग्यो,’ उनले भनिन्, ‘त्यहीँ भएर आफैं बजारमा भिडेकी छुँ  ।’ 

पहिलो पटक दिल्लीमा नूडल्सबारे सिकेर आएकी प्रतिभालाई उनका पतिले उद्योग खोल्न सहयोग गरे । ९ महिना उद्योग खोल्ने बेलामा मात्र बसेपछि उनका पछि काठमाडौंमा कामको सिलसिलामा फर्किए ।

त्यसपछि उनी एक्लैले संघर्ष गर्नुपर्यो । उनी विराटनगरको तिनपैनीमा नै बसेर उद्यम चलाउन थालिन् । उनका पछि निजी कम्पनीमा जागिरे छन्  । शुरूमा रमाइलोका लागि नै उद्योग सञ्चालन गरेको बताएकी प्रतिभाले जब बजारमा उत्पादन पठाउन थालिन्, त्यसपछि यो अनिवार्यजस्तै भएको सुनाइन् ।

महिलाहरू सबल बन्नका लागि उत्पादनशील क्षेत्रमा लाग्नैपर्ने तर्क प्रतिभाको छ । तर त्यहाँसम्म पुग्नको लागि पनि समस्या रहेको उनले बताइन् । उनले ४ वर्षसम्म निकै नै चुनौती मोलिन् । पहिलो कुरा उनलाई १५ लाख रुपैयाँ निकाल्न समस्या थियो । भएको रकमले उद्योग खोलेर सञ्चालनमा ल्याएपनि महिलाको नाममा ऋण लिनुपर्दा पनि समस्या हुने गरेको उनले बताइन् । तर उद्यमीका लागि सरकारी नियम भने उद्योगलाई सहयोग गर्ने खालको रहेको उनको तर्क छ ।

‘म राम्रै परिवारमा जन्मिएर हुर्किएकी महिला हुँदा त गाह्रो छ । अझ नयाँ महिला आउने हो भने त निकै नै अप्ठ्यारो छ,’ उनले भनिन् । उद्यम गर्ने महिलालाई घरका परिवार, पति र आमाबुवाको पनि साथ हुनुपर्ने बताइन् ।

उद्योग संगठन मोरङमा कार्यकारिणी सदस्यको रुपमा रहेकी प्रतिभाले महिला उद्यमीलाई अगाडि ल्याउने काममा पनि भूमिका खेलेकी छन् । उनले भनिन्, ‘इच्छा गर्नुपर्यो, अहिले धेरै सम्भावना छ ।’

उनले १५ लाख रुपैयाँबाट शुरू गरेको लगानी अहिले २५ लाख रुपैयाँ नाघेको छ । उनले  शुरूका दिनमा घाटा व्यहोर्नुपर्यो । त्यो बेलाको संघर्षलाई भुल्दै गइन् तर अहिले धेरै नै चुनौतीपूर्ण होजस्तो लाग्छ । त्यो चुनौती समाधान पनि भइहाल्छ भन्ने उनको अनुभव छ । उनले लगानी अहिले बढाएकी छिन् ।

उनले विराटनगरमा एमएमएन उद्योग सञ्चालन गर्दै आएकी छन् नै । काठमाडौंमा समेत देशका विभिन्न क्षेत्रका उद्यमी महिलाले उत्पादन गरेका सामग्री संकलन केन्द्र सञ्चालनमा ल्याएकी छन् । महिला उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न केन्द्र एउटा महत्त्वपूर्ण संस्था हुनेमा उनले आशा लिएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्