काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्ट प्रवृत्तिका व्यक्तिहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
नयाँ वर्ष २०७६ सालको अवसरमा आइतबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्ट र अनैतिक मान्छे सच्चा नेपाली हुनै नसक्ने बताए ।
उनले गतवर्ष बेथिति र सुशासन कायम गराउने वर्षको रुपमा पनि रहेको भन्दै उच्च ओहोदामा रहेकाहरुलाई पनि कारबाहीको दायरामा ल्याएर सरकार भ्रष्टाचार नियन्त्रण गर्ने यात्रामा थप क्रियाशिल भएको बताए ।
‘मेरो नेतृत्वकाे सरकारले सुशासनको लागि चालेको कदमले नतिजा देखाइसकेको छ । भ्रष्टाचार, अनियमितता, हुण्डी, नक्कली भ्याटबिलदेखि सबै प्रतिकृतिको छामबिन जारीछ ।’ उनले सम्बाेधनका क्रममा भने ।
राज्यको सम्पत्तिको दाेहन गर्नेलाई छुट नदिने भन्दै भ्रष्टाचार निर्मुल पार्न समय लाग्ने पनि उनले बताए । उनले भने, ‘जुनसुकै मूल्य चुकाएर पनि भ्रष्टाचार उन्मुलन गरेरै छाड्नेछु । यस वर्षलाई थप उपलब्धि मूलक बनाउन लागिपर्ने संकल्न जाहेर गर्न चाहन्छु ।’