मानवअधिकार अधिवक्ता अमाल क्लूनीले अघिल्लो हप्ता संयुक्त राष्ट्रसंघमा मन्तव्य राख्दै इस्लामिक स्टेटले मच्चाएको नरसंहारबाट उन्मुक्ति नपाओस् भनी सुनिश्चित गर्नका लागि इराकले सुरक्षा परिषद्लाई आग्रह गर्नुपर्ने बताइन् ।

‘इराकका धेरै चिहानहरू असुरक्षित छन् अनि त्यहाँबाट लाशहरूको उत्खनन हुन सकेको छैन,’ क्लूनीले चेतावनी दिइन् । ‘प्रत्यक्षदर्शीहरू भागिरहेका छन् । अनि अहिलेसम्म एकजना पनि आईएसआईएसको लडाकुले संसारको कुनै पनि देशमा अन्तर्राष्ट्रिय अपराधका लागि पुर्पक्षको सामना गर्नुपरेको छैन ।’
उनको भाषण अत्यन्त शक्तिशाली भएकाले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी राजदूत निक्की हेलीले समेत एक ट्वीटमार्फत समर्थन जनाइन् ।
तर टाइम पत्रिकाले यो घटनाका बारेमा यस्तो ट्वीट ग–यो, ‘अमाल क्लूनीले संयुक्त राष्ट्रसंघमा गर्भवती भएको देखाइन् ।’ (टाइमले पछि यो हेडलाइन परिवर्तन ग–यो ।)
बेलायतका टेब्लोइड पत्रिकाहरू पनि यससम्बन्धमा गतिला देखिएनन् । द डेली मेलको हेडलाइन यस्तो थियो, ‘६ महिनाकी गर्भवतीले साढे चार इन्चको हीलजुत्ता लगाइन्, यसो गर्नु बुद्धिमत्ता हो त अमाल ?’
त्यस्तै, द मिरर पत्रिकाले यो स्टोरीको हेडलाइन यस्तो राख्यो, ‘गर्भवती अवस्थाको झलक दिएकी अमाल क्लूनीमा पहेंलो लुगा सुन्दर देखियो ।’
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी छोरी मालियालाई पनि अघिल्लो महिना मिडियाले यस्तै व्यवहार ग–यो । उनले न्युयोर्कमा इन्टर्नशिप शुरू गर्दा द हफिङटन पोस्ट, स्लेट तथा अन्य प्रकाशनहरूले उनका जिम्मेवारी वा करीयर रुचिहरूका बारेमा उल्लेख गरेनन् । बरू उनीहरूले उनले अफिस जाँदा लगाएको जीन्सको स्टाइलको चर्चा गरे ।
प्रतिभाशाली महिलाहरूको वास्तविक कामलाई बेवास्ता गरेर उनीहरूको शरीरमा घुरेर हेर्नु लैंगिक विभेद र गैरजिम्मेवारीपन दुवै हो । यसले महिलालाई वस्तुकरण गर्ने भएकाले यो विभेद हो किनभने पुरुषलाई यस्तो व्यवहार गरिँदैन । मैले हालसालै पढेका समाचारहरूमा पुरुष मानवअधिकार अधिवक्ताहरूका पेट, लुगा वा जुत्ताका बारेमा कसैले टिप्पणी गरेको भेटेको छैन । यो गैरजिम्मेवारीपूर्ण किन हो भने यसले मारिएका नागरिकका शरीरबाट ध्यान मोडेर चर्चित व्यक्तिको शरीरमा लैजान्छ । यसले पाठकहरूलाई अहिलेको समयको सबभन्दा महत्त्वपूर्ण मुद्दाका बारेमा जानकारी दिँदैन ।
प्रेसले भविष्यमा यस विषयमा कसरी राम्रो कभरेज गर्न सक्छ ? न्युजरूमहरूले दुईवटा सामान्य नीति अपनाउनुपर्छ ।
पहिलो, मिडिया आउटलेटहरूले समाचारमा सान्दर्भिक हुने हदसम्म मात्र व्यक्तिको शरीर वा कपडामाथि टिप्पणी गर्नुपर्छ । समाचारमा आएको व्यक्ति मोडेल वा फेशन आइकन हो भने मात्र उनको लुगाकपडाका बारेमा लेख्नु उचित हुन्छ ।
उदाहरणका लागि, थुप्रै पुरस्कार जितेकी नाइजेरियाली–अमेरिकी लेखिका चिमामान्दा न्गोजी अदिचेले महिलाहरू प्रतिभाशाली र सुन्दर दुवै हुने कुरा प्रस्ट रूपमा बताउँदै आएकी छन् र उनी मेकअप ब्रान्ड नं ७ की मोडेल पनि हुन् । त्यो सन्दर्भमा उनको साजसज्जालाई समाचारको विषय बनाउनु सान्दर्भिक हुन्छ ।
तर कुनै महिलाले गरिरहेका कामसँग उनको बाहिरी रूप र भेषभूषासँग कुनै मतलब नराखेमा त्यसमाथि टिप्पणी गर्ने कुनै कारण वा बहाना छैन । यसको साटो संवाददाताले महिलाको कामका बारेमा समाचार लेख्नुपर्छ ।
क्लूनीको शरीरमा यति धेरै चासो उनले हलिउड अभिनेता जर्ज क्लूनीसँग बिहे गरेको कारण पनि उब्जिएको हो । तर कुनै महिलाले छानेको जीवनसाथी उनलाई रूपको विषयमा तुच्छ बनाउने बहाना बन्नु हुँदैन ।
कुरा अझै बाँकी छ । मिडिया आउटलेटले महिलाको शरीरमाथि समाचार बनाउँछ भने पुरुषको शरीरको पनि त्यसैगरी समाचार बनाउनुपर्छ भनी न्युजरूमको नीति बन्नुपर्छ । त्यसो भयो भने महिलालाई मात्र वस्तुकरण गर्ने काम हुँदैन । टाइम पत्रिकाले संयुक्त राष्ट्रसंघका महासचिवको रूप र भेषभूषाका बारेमा शायदै ट्वीट लेख्ला ।
सबै पत्रकारले महिलालाई यसरी नै समाचार बनाउँछन् भन्ने छैन । उदाहरणका लागि, न्युयोर्क टाइम्सका स्तम्भकार निकोलास क्रिस्टोफले टाइम पत्रिकाको ट्वीटका बारेमा टिप्पणी गर्दै आफैं ट्वीट गरे, ‘हत्तेरिका । राम्रो हेडलाइन यो हुन्छ ः मानवअधिकार अधिवक्ताले याजिदीहरूको नरसंहार र सामूहिक बलात्कारविरुद्ध कारवाही गर्नका लागि संयुक्त राष्ट्रसंघलाई आह्वान गरिन्’ ।
टेब्लोइडहरूले आपत्तिजनक समाचारहरू छाप्ने भएपनि एसोसिएटेड प्रेस र बीबीसी वर्ल्ड सर्भिस जस्ता गम्भीर मिडियाले समेत अमालको समाचार लेख्दा उनको श्रीमान् छनोटमाथि टिप्पणी गरे भनी द वाशिङटन पोस्टले उल्लेख ग–यो ।
मानिसहरूको शरीरलाई कसरी समाचार बनाउने सम्बन्धी प्रत्येक न्युजरूमले नीति बनाउनुपर्छ । महिलाको शरीरका विषयमा गरिने छलफलका पुराना धारणाबाट मिडिया अघि बढ्नुपर्ने आजको आवश्यकता हो । एक महिलाले संसारमा पार्ने प्रभावमा उनको जुत्ताको छायाँले कुनै योगदान गर्दैन, बरू उनले गरेको कामका आधारमा प्रभाव पर्ने हो ।
कोलम्बिया जर्नलिजम रिभ्युमा चैत १ गते प्रकाशित सामग्रीको अनुवादअनुवादक: विन्देश दहाल