
बुुटवल –रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा बुद्धका आकर्षक मूर्ति राख्न थालेको छ । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले सिक्सलेन सडक डिभाइडरमा बुद्धमूर्ति राखेको हो ।
तिलोत्तमाको प्रवेशद्वार योगिकुटीमा स्थापना गरिएको बुद्धमूर्तिको आइतबार आयोजित एक कार्यक्रमबीच प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले अनावरण गरे ।
सिक्सलेन सडक डिभाइडरको २५० देखि ३०० मिटर दूरीमा बुद्धमूर्ति राखिनेछ ।
पहिलो चरणमा सिक्सलेन निर्माण पूरा भएको मणिग्रामसम्म २२ वटा आकर्षक बुद्धमूर्ति राखिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा सिक्सलेनमा बुद्धमूर्ति राख्ने गरी बजेट विनियोजन गरेको थियो । निर्माण सकिएसँगै कोटिहवासम्मकै सडक डिभाइडरमा बुद्धमूर्ति राख्ने नगरपालिकाको योजना छ ।
सिक्सलेनमा हरियाली प्रबद्र्धन र नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको तिलोत्तमाले पर्यटकलाई आकर्षित गर्न सडकमा बुद्धमूर्ति राखेको हो ।
बुद्धमूर्ति अनावरण कार्यक्रममा बोल्दै मन्त्री गिरीले लुम्बिनीको पर्यटन प्रबद्र्धनले समग्र प्रदेशको विकासमा महत्त्वपूर्ण टेवा पु¥याउने भएकाले प्रदेश सरकारले यो वर्षलाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको जानकारी दिए ।
लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन सबैले आ—आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिँदै मन्त्री गिरीले सडकलाई सुन्दर बनाउने गरी तिलोत्तमाले बुद्धमूर्ति राखेकोमा सरहाना व्यक्त गरे ।
कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बुद्धमूर्ति राखिएसँगै सिक्सलेन सडकको डिभाइडरलाई आकर्षक फूलबारी बनाउने योजनाका साथ नगरपालिका अघि बढेको जानकारी दिए ।
स्थानीय बासिन्दाको साथ र सहयोगले सिक्सलेनलाई आकर्षक बनाउन विभिन्न कामहरू भैरहेको बताउँदै उनले बुद्धमूर्ति नगरको पहिचानका लागि पनि हुने उल्लेख गरे ।