काठमाडौं, ४ चैत – जिल्ला अदालत काठमाडौंले विद्युत् मिटर बिगारेर राज्यलाई घाटा पु–याउने कार्यमा दोषी देखिएको प्रारम्भिक ठहर गर्दै विद्युत् प्राधिकरणका कर्मचारी र व्यापारीहरूलाई धरौटीमा रिहा नगरी थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले शुक्रवार यस्तो आदेश दिएको हो । प्रारम्भिक सुुनुवाइपछि धरौटीमा रिहा नगरी पुर्पक्ष (अर्को आदेश नभएसम्ममका लागि थुनामै राख्ने) आदेश दिनुलाई गम्भीर रूपमा लिइन्छ । घटनामा संलग्नहरू प्रारम्भिक सुनुवाइकै क्रममा दोषी देखिएपछि अदालतले धरौटीमा रिहा नगरी थुनामा पठाउन आदेश गर्छ ।
विद्युतको मिटर उल्टो घुमाउने र त्यसबापत घुस लिने आरोप लागेका कर्मचारी र व्यापारीलाई थुनामा राख्ने आदेश आएको हो । अदालतको आदेशपछि प्रधिकरणका कर्मचारीहरू तहलबहादुर कार्की, भगवान पाण्डे, सुमन श्रेष्ठ मुद्दा अर्को आदेश नभएसम्म थुनामा रहनेछन् ।
अदालतको आदेशले व्यापारी तपन घोष पनि थुनामै रहनेछन् । मिटर बिगारेर सीमित व्यापारिक घरानालाई असीमित उज्यालो दिने, विद्युत् प्राधिकरणलाई नोक्सानी पु–याउने र राजस्व चुहावटमा समेत सहयोग गर्ने गरेको आरोप कर्मचारी र व्यापारीमाथि लागेको थियो ।
यही मुद्दामा आरोपित बनाइएका केहीलाई भने अदालतले धरौटी वा सामान्य तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला सरकारी वलिकको कार्यालय काठमाडौंले विद्युत् मिटर बिगार्नमा संलग्नहरूबाट प्रतिव्यक्ति करीब साढे दुईकरोड रुपैयाँभन्दा बढी असुलउपर हुनुपर्ने र उनीहरूलाई सात वर्षको कैद समेत हुनुपर्ने दाबी गर्दै मुद्दा दायर गरेको थियो ।