२० असार २०८३, शनिबार

पत्रकार गिरीको रिहाइको माग गर्दै जिल्ला प्रशासन र प्रहरी कार्यालयमा धर्ना

बैशाख ४, २०७६
पत्रकार गिरीको रिहाइको माग गर्दै जिल्ला प्रशासन र प्रहरी कार्यालयमा धर्ना

पोखरा- ठगी गरेको भन्दै पोखराका व्यवसायी विपिन बतासको बारेमा समाचार लेखेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौं (सीआईबी)द्वारा पक्राउ परेका पत्रकार अर्जुन गिरीको रिहाइको माग गर्दै कास्कीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । 

गिरीको रिहाइको माग गर्दै बुधवार कास्कीका पत्रकारहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । साइबर क्राइम मुद्धामा पक्राउ गरी कारवाही गरेको भन्दै रिहाइको माग गर्दै पोखराका पत्रकारहरूले धर्ना दिएका हुन् ।

पत्रकार महासंघ कास्कीको अगुवाइमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक-एक घण्टा धर्ना दिएका हुन् । 

'विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ ऐन खारेज गर' , 'प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर' लगायतका ब्यानर तथा प्लेकार्डहरू बोकेर आज पोखराबाट सञ्चालन हुने सञ्चारमाध्यमले सामूहिक विरोध प्रदर्शन गरेका हुन् । 

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले पत्रकार अर्जुन गिरीको गिरफ्तारीका विरुद्ध महासंघले चरणबद्ध आन्दोलन थालेको बताए । उनले सरकारले ल्याएको विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गरे । ‘सरकारले पत्रकारलाई तर्साउन ल्याएको विद्धुतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज हुनै पर्छ,’ उनले भने, ‘सरकारले यो ऐन खाजेर नगरेसम्म हाम्रो आन्दोलन निरन्तर जारी रहन्छ ।’

पत्रकारलाई पटक-पटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले मुलुकी ऐनको दफा ४७ र ४८ खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै धर्ना कार्यक्रमको आयोजना गरिएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रले घोषणा गरेका कार्यक्रम अन्तर्गत कास्की शाखाद्वारा धर्ना कार्यक्रमको आयोजना गरेको हो ।

महासंघ केन्द्रले भोलि ५ गते बिहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने निर्णय गरेको छ । त्यसैगरी महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

पक्राउ परेका गिरीलाई मंगलवार जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ । 

पर्वतमा पनि धर्ना

नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकारलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन लगायतको विरोधमा जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएको छ ।

महासंघ केन्द्रले आन्दोलनको घोषणा गरेसँगै पत्रकार महासंघ पर्वतले पनि विरोध गर्दै धर्ना दिएको हो । 

महासंघले मुलुकी ऐनको दफा ४७ र ४८ खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गरिएको पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्