०१ साउन २०८३, शुक्रबार

प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना

प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना

काठमाडौं- नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ । 

नेपाल प्रहरी अस्पतालको ३५ औं वार्षिकोत्सवका अवसरमा बिहीवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको ‘भीआईपी कक्ष’को उद्घाटन गरेका हुन् । 

विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले १५० शय्या रहेको छ । 

सो अवसरमा महानिरीक्षक खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । 'अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन् राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्,' उनले भने । उनले व्यावसायिकतालाई विवेकपूर्ण ढंगले उत्कृष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए । 

महानिरीक्षक खनालले प्रहरी अस्पताललाई अरू अस्पतालभन्दा उत्कृष्ट अस्पतालका रूपमा विकास गर्न मन, वचन र कर्मले काम गर्न सबै अस्पतालका चिकित्सक तथा कर्मचारीलाई निर्देशनसमेत दिए । 

अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० शय्या अस्पतालका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिइन् । 

अस्पतालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बारा–पर्सामा भर्खरै गएको हावाहुरीबाट घाइते जनताको उपचार, काठमाडौंका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए ।

नेपाल प्रहरी र नेपाल प्रहरीका आश्रित परिवारलाई उपचार गर्दै आएको अस्पतालले गत वर्षदेखि सर्वसाधारण जनतालाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालले विसं २०७४ चैतदेखि २०७५ फागुनसम्म एक लाख ५१ हजार ७२६ प्रहरी कर्मचारी, प्रहरी कर्मचारीका आश्रित परिवार र सर्वसाधारणलाई उपचार गरेको जनाएको छ । 

प्रहरी अस्पतालले आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिनुभयो । 

यस्तै अस्पतालले वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, वार्षिकोत्सव पूजा र बिरामीलाई फलफूल वितरणसमेत गरेको डा. पाठकले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्