२३ असार २०८३, मंगलबार

कालीनाथ बाबा, जो चप्पल लगाएरै नारायणहिटी दरबारमा गए

कात्तिक २०, २०७४
कालीनाथ बाबा, जो चप्पल लगाएरै नारायणहिटी दरबारमा गए
छेवैमा पिकनिक आएका युवायुवतीहरू यतिबेला खुवै चर्चामा रहेको ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार...’ नामक गीतमा आइटम डान्स नाचिरहेका छन् ।

वसन्त ऋतुको आगमनसँगै डाँडामा बजेको स्पिकरको आवाज परपरसम्म घन्किएको छ, तर त्यस्ता आवाजले उनलाई छुँदैन । उनी अर्थात् कालीनाथ बाबा ।Baba-lata (1)
भारतको कोलकाताबाट ५१ वर्षअघि नेपाल आएका कालीनाथ अघोर फलाहारी (फलफूल मात्र खाने) बाबाले भक्तपुरमा दिउँसै स्याल कराउने डाँडाको मुहार फेरेर अहिले पर्यटकीय क्षेत्र बनाएका छन् ।
काठमाडौं उपत्यकाको धूलो, कोलाहल र तनाव बिर्सन आजकल भक्तपुरको त्रिशूल डाडाँमा भीड लाग्न थालेको छ । यिनै बाबाले भक्तपुरको चाँगुनारायणनजिक विशाल त्रिशूल गाडेर डाँडाको नाम नै त्रिशूल डाँडा बनाइदिएका छन् । भक्तपुरको प्रख्यात चाँगुनारायण मन्दिरबाट तीन किलोमिटर पूर्व पर्छ, त्रिशूल डाँडा ।

‘कर्मथलो खोज्दै हिँड्दा पशुपतिनाथले मलाई यहाँ ल्याइपु–याउनुभयो । पच्चीसवटा हिमाल देखिने ठाउँ देवभूमि हो,’ गत शनिवार बाबाले सुनाए ।
हुन पनि काठमाडौं उपत्यका प्रस्ट देख्न सकिने त्रिशूल डाँडाबाट २५ वटा हिमाल देख्न सकिन्छ । त्रिशूल डाँडामा महाकाली देवीको मन्दिर र पाटी निर्माणको योजना बनाएर सहयोग उठाइरहेका छन् । सात करोड रुपैयाँ लाग्ने अनुमान गरिएको योजनाका लागि सहयोग उठ्नेमा उनी निर्धक्क छन् ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मन्दिर निर्माणको लागि पाँच लाख रुपैयाँ दिएका बाबाले बताए । ‘सात करोड उठाउनु मेरो लागि मामुली कुरा हो, पैसाको चिन्ता गर्ने भएको भए म कहाँ बाबा बन्थे ?’ पैसा कसरी जुट्छ भन्ने प्रश्नमा उनको ठेट उत्तर थियो । यस ठाउँलाई धार्मिक र पर्यटकीय क्षेत्र बनाउने उनको लक्ष्य छ । दुई वर्षमा मन्दिर निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसहित मन्दिरको जग खनिसकिएको छ ।

चप्पल लगाएर नारायणहिटी दरबार
त्रिशूलडाँडामा तत्कालीन युवराज पारसले पाँचमुखे हनुमानको मूर्ति स्थापना गरेका छन् । पूर्वराजदूत जयराज आचार्यको सहयोगमा त्रिशूलडाँडामा सन्तोषी माताको मन्दिर पनि बनेको छ ।

२०५८ सालमा दरबार हत्याकाण्ड नभएको भए केही दिनमा उनले राजा वीरेन्द्रलाई भेट्न पाउँथे । राजासँग भेट्ने समय मिलाउँदा मिलाउँदै दरबार हत्याकाण्ड भयो । पछि ज्ञानेन्द्र राजा भएपछि कालीबाबालाई राजासँग भेट्न बोलाइयो । ‘ज्ञानेन्द्र सरकारको पालामा दरबार गएँ म, चप्पल लगाएरै,’ उनले भने ।

कतिपय धर्मगुरु र बाबाहरू नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन र राजतन्त्र पुनःस्थापित गर्न भन्दै लागेपनि बाबाहरूले राजतन्त्र फर्काउन नसक्ने उनको भनाइ छ । ‘यो त जनताको चाहनाको कुरा हो, जनताले चाहेनन्, राजा गए, जनताले चाहे राजा आउँछन्,’ उनको सहज उत्तर छ ।Baba-lata (2)
घरपरिवार, सम्पत्ति र मोह त्यागेर हिँडेका बाबा जीवन जनकल्याणको खातिर हुनुपर्ने बताउँछन् । ‘जीवन छ र त मृत्यु छ, मृत्यु नभएको भए जीवनको के अर्थ ?’ जीवनबारेको उनको साधारण बुझाइ छ ।
पछिल्ला वर्षमा भारतवर्षमा जोगीको संख्या बढेको बढ्यै छ । जीवनसँग संघर्ष गर्न डराएर पनि जोगी बन्नेको संख्या बढिरहेको छ । कुनै बेला मेकानिकल इन्जिनियर बन्ने भनेर हिँडेका कालीबाबा अहिले जोगीभन्दा ढोंगीको संख्या बढेको बताउँछन् ।
‘करोडौंमा एकजना साधु हुन्छ, लाखौंमा एक जोगी,’ उनी भन्छन्, ‘जोगीको भेषमा ढोगीको कमी छैन ।’

नेपाल गरीब होइन, नेताले गरीब बनाए 

नेपालको राजनीतिको बारेमा चासो राख्ने कालीबाबाले नेपाल आफैंमा  भएपनि यहाँका नेताहरूले देशलाई गरीब बनाएको टिप्पणी गरे । ‘राजनीति धर्मबाट चल्छ । यहाँका नेताहरूमा धर्म नै छैन, अनि राजनीति कसरी शुद्ध होस् ?’ उनले भने, ‘नेपालमा के कमी छ ? नूनखानी छ, फलामखानी छ, तर नेतामा भिजन छैन ।’

राजनीतिक दलले गर्न नसकेपनि नेपाल स्वतः विकसित हँुदै जाने उनको बुझाइ छ । ‘मेरो अन्तिम इच्छा नेपाल शान्त होस् र रेल गुडोस् भन्ने हो,’ उनी भन्छन्, ‘बीस वर्षमा नेपालमा रेल गुडेको देख्न पाऊँ ।’

वर्षमा एकपटक नुहाउँछु !
Baba-lata (3)

लामो केशको लट्टा पालेका कालीनाथ बाबाको जीवन शैली पनि बिन्दास छ । उनी वर्षमा एकपटक मात्र नुहाउँछन् । नुहाउने पनि साबुन लगाएर होइन । शिवरात्रिको दिन टाउकोमा जल छर्ने मात्र ।

‘शिवरात्रिमा मात्र नुहाउँछु,’ एक सवालमा उनले भने, ‘ननुहाएपनि शरीर गनाएको छैन, गनाएको भए तपाईं मेरो नजिक पर्न सक्नुहुन्थ्यो ?’ उनले लामो हासो हाँस्दै उनले सुनाए ।

बाबा भएपनि उनले त्रिशूल डाँडामा कुकुर पालेका छन् । त्रिशूल डाँडामा बाबाले अहिलेसम्म ४२ वटा कुकुर पाले, तीमध्ये ३८ वटालाई चितुवाले खाइदियो । पालेका कुकुर बाघले सकेपनि कालीनाथ बाबाले आफूले बाघसँग कुरा गर्ने दाबी गरे, ‘मलाई कुनै डर लाग्दैन, बाघसँग कुरा गर्छु,’ उनले दाबी गरे ।

कस्तो हुन्छ बाघसित कुरा गर्ने भाषा ? लोकान्तरको यो प्रश्नमा बाबाको चुनौती थियो, ‘बाघसँग कुरा गर्न जाने हो त चितवन ?’
खुट्टा होइन गोडा भन्नुस्
नेपालका पत्रकारहरूसँग उनको एउटा गुनासो रहेछ, समाचारमा गोडालाई खुट्टा भनिएकोमा । ‘खुट्टा त गाईभैंसीको पो हुन्छ, मानिसको गोडा हो, दिदीबहिनीको गोडा धुनुुहुन्छ कि खुट्टा ?’ बाबाले प्रश्न गरे, ‘नेपालीले नै नेपाली भाषा बिगारेपछि म बंगालीले के भन्ने ?’

salt training

कमेन्ट गर्नुहोस्