१२ असार २०८३, शुक्रबार

सुकुटेबाट फर्किए प्रचण्ड, ३ नम्बर प्रदेशको लगानी सम्मेलनमा जाँदै

सुकुटेबाट फर्किए प्रचण्ड, ३ नम्बर प्रदेशको लगानी सम्मेलनमा जाँदै

काठमाडौं – बिहीवार सपरिवार सिन्धुपाल्चोकको सुकुटे पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ शुक्रवार बिहान काठमाडौं फिर्ता भएका छन् ।

सुकुटे पुगेका प्रचण्ड १ रातको लागि आराम गर्न मात्र त्यहाँ पुगेको प्रचण्डको सचिवालयले बतायो । तर प्रचण्ड यसअघि कुनै महत्त्वपूर्ण राजनीतिक विषयमा निर्णय लिन वा पार्टीको दस्तावेज लेख्न सुकुटे पुग्ने गरेका थिए ।

वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसकै अवसरमा पार्टी एकता प्रक्रिया टुंग्याउने कसरत राजधानीमा चलिरहेको छ । पार्टीको जिल्ला र स्थानीय तहको नेतृत्व छान्नका लागि पार्टीभित्र ठूलो रस्साकस्सी चलिरहेको बेला प्रचण्डको सुकुटे भ्रमण महत्त्वपूर्ण मानिएको थियो । त्यहाँ उनले महत्त्वपूर्ण राजनीतिक भेटघाट गर्ने वा कुनै महत्त्वपूर्ण राजनीतिक निर्णय लिने आंकलन गरिएको थियो । 

तर त्यस्तो केही नभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले बताए । ‘उहाँ एक रातका लागि आराम गर्न मात्र जानुभएको हो,’ जुगलले लोकान्तरसँग भने, ‘त्यस्तो राजनीतिक कुरा केही भएन । बेलुका खाना खाएर सुतियो र बिहान केही समय मार्निङ वाक गरेपछि काठमाडौं फिर्ता भएको हौं । हामी बिहान साढे ९ बजे काठमाडौं आइसकेका थियौं ।’ 

प्रचण्डसँग पत्नी सीता दाहाल र सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नी सापकोटा पनि सँगै सुकुटे पुगेका थिए । 

काठमाडौंमा ओली-नेपालको 'वान टु वान'

प्रचण्ड सुकुटे पुगेपछि यता प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेताको दुईपटक 'वान टु वान' भेट भएको स्रोतले बतायो । नेकपा स्रोतका अनुसार बिहीवार साँझ र शुक्रवार बिहान गरेर दुईपटक नेता नेपाल बालुवाटार छिरेका थिए ।

७७ जिल्लामध्ये ३२ जिल्लाको नेतृत्वको जिम्मेवारी पूर्वमाओवादीले पाउने भएपछि बाँकी ४५ जिल्लाको नेतृत्व बाँडफाँडका लागि ओली-नेपालको भेट भएको स्रोतको दाबी छ । यसअघि प्रचण्डले प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाललाई नेतृत्व बाँडफाँडका लागि सहमतिमा आउन आग्रह गरेका थिए ।

३ नम्बर प्रदेशको लगानी सम्मेलनमा जाँदै

३ नम्बर प्रदेश सरकारको आयोजनामा शुक्रवारदेखि लगानी सम्मेलन शुरू हुने कार्यक्रम रहेको छ । प्रचण्ड त्यही लगानी सम्मेलनका लागि १२ बजे काठमाडौंबाट भरतपुर प्रस्थान गर्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार जुगलले बताए । 

योजना आयोगका सदस्य डा. रामचन्द्र ढकालले सम्मेलनमा छलफल गरिने विषय, सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र, सहभागी हुने उद्योगी व्यवसायी, विभिन्न क्षेत्रका विज्ञलगायत सरोकार पक्ष सबैलाई निमन्त्रणा गरिसकिएको जानकारी दिए ।

भरतपुर हाकिम चोकको एक व्यांकवेटमा हुने लगानी सम्मेलनको उद्घाटन प्रचण्डले दिउँसो २ बजे गर्ने कार्यक्रम रहेको छ । २ दिनसम्म चल्ने लगानी सम्मेलनमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना, लगानीको सुरक्षा, चुनौती, कमी कमजोरी, अवसर तथा सुधार गर्नुपर्नेलगायत विषयमा उद्योगी व्यवसायीसँग छलफल गरी प्रदेशमा लगानीको वातावरण तयार गर्ने प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्