
सुर्खेत–कालीकोट जिल्लाको मोडल कृषि सहकारी संस्था लिमिटेडको गाडी दुरुपयोग भएको पाइएको छ ।
संस्थाका अध्यक्ष रत्न प्रसाद आचार्यले खसीबोका ढुवानीका लागि २०७४ साउनमा प्याक्टबाट खरिद गरिएको गाडी भाडामा सुर्खेत नेपालगञ्ज तथा काठमाडौं सम्म पठाउने गरेको पाइएको हो ।
यति सम्मकी उनले गाडी भाडा उठाएर हिनामिना गरेपनि गाडी चलाउने चालकलाई भने विगत ६ महिना देखि तलबसम्म दिएका छैनन् ।
गाडी चालक धिरज शाहीले अहिले गाडी नियन्त्रणमा लिएका छन् ।
‘मेरो ६ महिनादेखिको तलब नदिएका कारण मैले गाडी नियन्त्रणमा लिएको हुँ’, गाडी चालक शाहीले भने, ‘मेरो तलब नदिएसम्म गाडी नियन्त्रणमा नै राख्नेछु ।’ अहिले उक्त गाडी वीरेन्द्रनगरमा रहेको बस काउण्टरमा राखिएको छ भने गाडीको चाबी उनले नियन्त्रणमा लिएका छन् ।
उनले आफूले गाडीमा भाडाका यात्रु ओसारपसार गर्दै आएको बताए । ‘मैले काठमाडौं, सुर्खेत, नेपालगञ्जसम्म भाडामा यात्रु बोकेको गरेको छु’ उनले भने, ‘उक्त गाडी भाडा अध्यक्ष आफैले बुझ्ने गरेका छन् ।’ अहिलेसम्म लाखौं रुपैयाँ भाडावापत उठिसकेको उनको भनाई छ ।
सहकारी संस्थाका एक सदस्यले अहिलेसम्म भाडा वापतको रकम भनेर अध्यक्षले बैंकमा जम्मा गरेको थाहा नभएको बताए । ‘हामीलाई अहिलेसम्म गाडी भाडा कति उठेको छ । जानकारी नै छैन’ उनले भने, ‘सहकारी संस्थामा अध्यक्षको रजाई चलेको छ । उनको मनमर्जी बढिरहेको छ ।’
एउटा प्रयोजनका लागि ल्याइएको गाडीलाई अर्कै प्रयोजनमा लगाउनु दुखद भएको उनको भनाई छ ।
‘जुन उद्देश्य पूरा गर्न संस्थामा गाडी आएको हो । त्यही अनुसार प्रयोग गर्न पर्थ्यो’ उनले भने, ‘तर अध्यक्षले व्यक्तिगत रुपमा भाडामा लगाएर व्यापक अनियमितता गरेका छन् ।’
उनले गाडीबाट उठेको भाडा फिर्ता गराउनु पर्ने बताए ।
यता अध्यक्ष शाही पनि गाडी चालकले नियन्त्रणमा लिएको स्वीकारेका छन् । ‘ड्राइभरको तलब नदिएको साँचो हो । म आज दिन्छु’ उनले भने, ‘तर म तपाई सँग भोली (आइतबार) कुरा गर्छु ।’ उनले त्यसपछि फोन नै उठाएनन् ।