
काठमाडौं – भारतको केरल राज्यको पत्तनमतिट्टा लोकसभा सीटबाट भारतीय जनता पार्टीका उम्मेदवार के सुरेन्द्रनविरुद्ध २४२ आपराधिक मुद्दा दायर भएको छ ।
तीमध्ये २२२ मुद्दा त सबरीमाला आन्दोलनसँग मात्र जोडिएको छ । सबरीमाला मन्दिरमा रजस्वला हुने महिलालाई प्रवेश गर्न नदिने व्यवस्था भएकोमा त्यसको विरोधमा केही समयअघि आन्दोलन भएको थियो ।
भाजपालाई आफ्नो मुखपत्र जन्मभूमिमा उनका आपराधिक मुद्दाका बारेमा विवरण दिन नै चार पेज खर्च भयो ।
उता पार्टीको टीभी च्यानल जनम टीभीमा सुरेन्द्रनको आपराधिक विवरणको जानकारी दिन नै एक मिनेट लाग्यो । अन्य उम्मेदवारको विवरण जम्मा सात सेकेन्डमा सकियो ।
पार्टीका एक आधिकारिक सूत्रले बतायो, ‘अर्को पत्रिकामा भए यति लामो विज्ञापन छाप्दा लगभग ६० लाख भारु खर्च हुन्थ्यो । अझ टीभीमा भएको भए यो रकम झन् बढ्थ्यो ।’
खासमा चुनाव आयोगले उम्मेदवारहरूलाई उनीविरुद्ध चलिरहेका मुद्दाको फेहरिस्त छापा र टीभीमा तीनपटक विज्ञापन दिनुपर्ने निर्देशन दिएको छ । त्यसैले गर्दा के सुरेन्द्रनले विज्ञापन दिएका थिए । पार्टी मुखपत्रमा पनि उनीविरुद्धको विवरणको विज्ञापनमा चार पेज खर्च भयो भने टीभीमा एक मिनेटको समय लाग्यो ।
केरल भाजपा प्रवक्ता एमएस कुमारले भने, ‘सबरीमाला मामिलामा सुरेन्द्रनविरुद्धको मुद्दा कानूनको दायरामा पर्दैन । त्यसबाहेक धेरैजसो मुद्दा चुनावको ठीक अघि दर्ता गरिएको हो । यस्तो अवस्थामा उनले मुद्दा लड्न पर्याप्त समय पाएनन् ।’
एजेन्सी