
सुर्खेत- कर्णाली प्रदेशसभाको तेश्रो अधिवेशन अर्थात् हिउँदे अधिवेशन १७ घण्टा ३२ मिनेट सञ्चालन भएको छ । जम्मा १३ वटा प्रदेश सभाका बैठक बसेका थिए । २०७५ फागुन १५ गते शुरू भएको अधिवेशन चैत २७ गते सम्पन्न भएको हो ।
प्रदेश सभाका कानून अधिकृत राम बहादुर चन्दले आइतवार सोबारे जानकारी दिएका हुन् ।
बैठकबाट पाँच वटा विधेयक पारित भएका छन् । ‘कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, कर्णाली प्रदेश सार्वजनिक प्रशारण सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक, २०७५, कर्णाली प्रदेश सहकारी विधेयक, २०७५, कर्णाली प्रदेशमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेका छौं,’ चन्दले भने, ‘थप ६ वटा विधेयक समितिमा छलफलका लागि पठाइएको छ ।’
उनका अनुसार समितिमा गएका विधेयकहरूमा कर्णाली प्रदेश स्वयंसेवक परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई पहिलो संशोधन गर्न बनेको विधेयक, खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न बनेको विधेयक, २०७५, सार्वजनिक र निजी क्षेत्रको साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रांगारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेशमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेका छन् ।
अहिलेसम्म २० वटा विधेयक प्रमाणीकरण भइसकेको उनले जानकारी दिए ।