
काठमाडौँ, २ पुस - खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले आधारभूत खानेपानी देशभर दुई वर्षभित्रमा पु¥याउने नीति बनाएर सरकारले काम गरिरहेको बताएका छन् ।
आज आयोजित कार्यक्रममा उनले भने , “दुई वर्षमा आधारभूत र पाँच वर्षभित्रमा मुलुकभर शुद्ध खानेपानी वितरण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ।”
भूकम्प, जलवायु परिवर्तन र मुहानको सरक्षण हुन नसक्दा पहाडका जनताले खानेपानीका लागि निकै समस्या झेल्नु परिरहेको जनाउँदै राज्यमन्त्री खड्काले लिफ्टिङ प्रविधिको प्रयोग र मुहानको संरक्षणमा विशेष ध्यान दिइनेछ भने ।
आर्सनिक प्रभावित तराईका २० जिल्लामा प्रतिट्याङ्की ७०० घरपरिवारलाई पुग्ने गरी १०० वटा ट्याङ्की निर्माणको तयारीको कार्यक्रम मन्त्रालयले अघि बढाइसकेको बताउँदै उहाँले मेलम्ची खानेपानी पनि आगामी असोज महिनाभित्रै काठमाडाँैवासीले प्रयोग गर्न पाउने विश्वास दिलाए ।
पहिलो चरणमा प्रतिदिन १७ करोड लिटर मेलम्चीको खानेपानी काठमाडौँ भित्रनेछ, हाल काठमाडाँैमा १२ करोड पानी प्रयोगमा आइरहेको छ, दुवै मिसाउँदा हुने २९ करोड लिटर पानीले काठमाडौँका बासिन्दालाई निकै राहत हुनेछ, दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आगामी पाँच वर्षसम्ममा थप ३४ करोड ल्याउने ढङ्गबाट विस्तृत अध्ययनको काम भइरहेको छ– राज्यमन्त्री खड्काले भने ।
मेलम्ची खानेपानी आयोजनाको अब बाँकी पाँच हाजर ८०० मिटर सुरुङ खन्ने कार्यलाई तीव्र तुल्याइने र काठमाडौँ उपत्यकामा पानी वितरणका लागि पाइप बिछ्याउने कार्य अबको तीन महिनाभित्रमा पूरा हुने बताइएको छ ।