
काठमाडौं – कर्मचारीलाई तलब खुवाउने र कार्यसञ्चालनमा खर्च गर्ने पैसाको अभावमा उडान बन्द गरेर बसेको जेट एयरवेजका केही विमान अन्य कम्पनीले उडाउने भएका छन् ।
उड्डयन विभागका केही वरिष्ठ अधिकारीले बताएअनुसार, स्पाइसजेटले जेट एयरवेजका ३० देखि ४० बोइङ ७३७ विमान उडाउन सहमति जनाएको छ भने एयर इन्डियाले पाँचवटा बोइङ ७७७ र केही बी७३७ विमान उडाउने भएको छ ।
एक सूत्रले बतायो, ‘आगामी १० दिनभित्र ४५ वटा जपत विमान उड्न थाल्नेछन् । यसो हुँदा जेट एयरवेजका धेरै कर्मचारीलाई काम र तलब उपलब्ध हुन्छ किनकि यी विमानसँग क्रू मेम्बरलाई पनि लीजमा लिइनेछ । उडानमा वृद्धिसँगै भाडामा पनि स्थिरता आउनेछ । यी विमान पहिले त भारतभित्र उड्नेछन् । पछि लन्डन, दुबई र सिंगापुर जस्ता गन्तव्यका लागि बी७७७ विमान उड्न थालेपछि अन्तर्राष्ट्रिय रूटमा पनि भाडा सामान्य हुनेछ ।’
जेटको बिक्री प्रक्रियाको सफलतामा ती विमान एयरलाइन्समा फर्किन्छन् कि फर्किदैनन् भन्ने कुरा निर्भर रहन्छ ।
नागरिक उड्डयन सचिव पीएस खरोलाले यसै हप्ता घरेलु रूटमा ७५ विमान सिस्टमबाट बाहिरिएको बताए । अन्य भारतीय एयरलाइन्स कम्पनीहरूले विगत पाँच महिनामा ५८ विमान ल्याएका छन् तर पूर्ण क्षमतामा अझै १७ विमान कम छन् ।
तीसदेखि ४५ जेट विमान एयर इन्डिया र स्पाइसजेटसँग उड्न थालेमा घरेलु र नजिकैका अन्तर्राष्ट्रिय उडानको ग्याप पूरा गर्न सकिन्छ । अनि भाडा घट्न पनि सहज हुन्छ ।
जेटको परिचालन बन्द हुँदा मुम्बई र दिल्ली विमानस्थलहरूमा क्रमशः २८० र १६० स्लट अचानक खाली भएका छन् । सरकारले ती स्लट आगामी तीन महिनाका लागि अन्य विमान कम्पनीलाई दिनेछ ।
घरेलु र अन्तर्राष्ट्रिय रूटहरूमा डिमान्ड र सप्लाईमा अचानक भारी अन्तर आएका कारण अनि पर्यटनको पीक सीजन चलेका कारण हवाई भाडा बढेको छ ।
एजेन्सी