
काठमाडौं- वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् ।
शनिवार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो । सो बैंकले चैतमसान्तसम्म एक अर्ब छ करोड ९६ लाख एक हजार बराबरको खुद नाफा आर्जन गरेको छ ।
यस्तै शनिवार माछापुच्छ्रे बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरणअनुसार नाफा बढेर एक अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ८५ करोड ४० लाख ५२ हजार १२१ थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.९८ प्रतिशतले वृद्धि भई दुई अर्ब ६० करोड १६ लाख ९६ हजार ८५६ पुगेकोे छ । आठ अर्ब ५ करोड ५६ लाख ९३ हजार चुक्ता पूँजी भएको बैंकले ८१ अर्ब १६ करोड ३१ लाख ६० हजार निक्षेप संकलन गरेको छ ।
यस्तै बैंकले ७४ अर्ब ९८ करोड ४० लाख ऋण लगानी गरेको पाइएको छ । विवरणअनुसार बैंकको खराब कर्जा भने गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको छ । हाल खराब कर्जाको मात्रा ०.४८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.३५ प्रतिशत थियो । बैंकको प्रति शेयर नेटवर्थ भने १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।