
काठमाडौँ -नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा 'विरही'ले आफ्नो नाम जोडेर सरकारले वार्ताको लागि दबाब दिएको भन्दै आपत्ति जनाएका छन् । आइतवार एक विज्ञप्ति जारी गर्दै विरहीले अहिले वार्ताको सन्दर्भ र औचित्य नभएको भन्दै सरकारको 'भ्रमपूर्ण प्रचारबाजी'माथि तिखो टिप्पणी गरेका छन् ।
'केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको छ,' विरहीले विज्ञप्तिमा उल्लेख गरेका छन्, 'मेरो नाम जोडेर नेकपाको नेतृत्वलाई वार्ताका लागि दबाब दिएको भनी सार्वजनिक भएको समाचार भ्रमपूर्ण र कपोलकल्पित हुनुका साथै फुटाउ र राज गर भन्ने मनासयबाट प्रेरित छ ।'
आफू सैद्धान्तिक रूपमा वार्ता विरोधी नरहेको तर अहिले वार्ताको औचित्य र सन्दर्भ दुवै नभएको टिप्पणी गर्दै विरहीले विज्ञप्तिमा उल्लेख गरेका छन्, 'सैद्धिन्तिक रूपमा हामी वार्ताका विरोधी होइनौं भन्ने कुरा पटक पटक सार्वजिक गर्दै आएका छौं तर अहिले न वार्ताको सन्दर्भ छ, न त औचित्य नै । यस प्रकारको समाचारमा कुनै सत्यता नरहेको तथा पार्टीको नीति र कार्यक्रम प्रति हामी सबै दृढ रहेको सबैमा अपिल गर्छु ।'
