२४ जेठ २०८३, आइतबार

वरिष्ठ नेता पौडेल भन्छन् : 'पानीजहाज होइन, पानी चाहियो !'

बैशाख ८, २०७६
वरिष्ठ नेता पौडेल भन्छन् : 'पानीजहाज होइन, पानी चाहियो !'

बुटवल- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्राथमिकता छुट्टयाउनै नजानेको बताएका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलनमा बोल्दै पौडेलले पानी जहाज र रेलका कुरा गरेर सरकारले देश विकासमा अहिले आवश्यक भएको विकासका प्राथमिकताहरु भन्दा देशलाई आर्थिकभार थोपर्ने खालका प्राथमिकताहरुमा बढी ध्यान दिएको आरोप लगाए ।

नेता पौडेलले अहिलेको अवस्था कम्युनिष्ट सरकारको लागि महत्त्वपूर्ण र सुनौलो समय भएपनि यसको सदुपयोग गर्न नसकेको बताए । यो सरकारले यसभन्दा अगाडिका सरकारले ल्याएका योजनाहरुको उद्घाटन गर्ने मात्र काम गरेको आरोप लगाउँदै पौडेलले नयाँ योजना केही ल्याउन नसकेको दाबी गरे ।

'प्रधानमन्त्री ओली जहाँ पुगे पनि पानीजहाज ल्याउने कुरा गर्नुहुन्छ,' पौडेलले भने, 'तर हाम्रो देशमा अहिले पानीजहाज भन्दा पनि पानी चाहिएको छ । जनतालाई खाने पानी र खेतमा सिंचाई पुर्याउने कुरामा ध्यान दिनुपर्छ ।'

नेकपा सरकार सत्ता र पार्टीका कार्यकर्ताको लागि मात्र प्रयोग भएको दाबी पौडेलको छ । पार्टी बनाउने तर देश नबनाउने मानिसकता अहिलेको सरकारमा देखिएको आरोप उनले लगाए । भ्रष्टाचार, अनियमितता, असुरक्षा बढेको हुनाले सरकार लोकतन्त्रलाई नै असफल गराउने बाटोमा अग्रसर रहेको पौडेलको आरोप छ ।

प्रश्न गर्न पाउने अधिकार भनेकै प्रजातन्त्र भएको बताउँदै पौडेलले नेपाली कांग्रेस भित्र कार्यकर्ताले प्रश्न गर्न जरूरी रहेको बताए । कार्यकर्ताले प्रश्न गरे पार्टी सुध्रिने बताउँदै पौडेलले पार्टीभित्र विद्यार्थी,  दलित, महिला संघ,  तरुण दल लगायतका भातृ संगठनको विषयमा छलफल गरेर यसको नेतृत्व हस्तान्तरण गरिनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्