
धनगढी- कैलालीको धनगढी–खुटिया सडकखण्ड कालोपत्रेको काम सुदूरपश्चिम प्रदेश सरकारमार्फत तत्कालै अगाडि बढाइने भएको छ । स्थानीयबासीको तीव्र दबाबपछि सो सडक खण्डको कालोपत्रेको काम प्रदेश सरकारमार्फत अगाडि बढ्ने भएको हो ।
स्थानीयबासीले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य लेखराज भट्टसहित यहाँका दर्जनौं नेताहरुलाई महिनौंदेखि दबाब सृजना गर्दै आएका थिए । तत्पश्चात कैलालीका सांसदहरुको एक टोलीले आइतबार सडक कालोपत्रेको माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराए ।
प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारी र चुनकुमारी चौधरी नेतृत्वको टोलीको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले सडकको लागत इस्टिमेट तयार भइसकेकोले चालू आर्थिक वर्षभित्रै प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए । तत्काल प्रदेश सरकारको ६० लाख बजेटबाट काम अगाडि बढाइने बताउँदै मुख्यमन्त्री भट्टले कालोपत्रेको कामले चाँडै पूर्णता पाउने समेत जनाए ।
ध्यानाकर्षण पत्र बुझाउँदै पूर्व सामाजिक विकास मन्त्री समेत रहेका सोडारीले सडकमा खाल्डाखुल्डी, धुलो, आवश्यक चौडाइ नभएकोले आवतजावत गर्नमा अत्यन्तै कठिनाइ भएकाले चालू आर्थिक वर्षभित्रै सडक कालोपत्रे गर्नुपर्ने बताए ।
मोहना–अत्तरिया ६ लेन सडकको निर्माण भइरहेका बेला हसनपुर स्याउले सडकखण्डलाई वैकल्पिक ४ लेनको सडकको रुपमा विस्तार गर्नुपर्ने माग समेत गरिएको छ । स्थानीयबासीले पूर्वमन्त्री समेत रहेका नेकपा नेता भीम रावल, लेखराज भट्टसहितका यहाँका मन्त्री, सांसद एंव जनप्रतिनिधीको मोबाइलमा म्यासेज पठाएर चैत १२ गतेदेखि दबाब सृजना गर्दै आएका थिए ।
स्थानीयहरुले आफ्नो म्यासेजमा भनेका छन्, ‘धनगढी–दिपायल सडक खण्ड कहिले कालोपत्रे हुन्छ ? के यो सडकखण्ड कालोपत्रे गर्ने लगायत एजेण्डा तपाईहरुको चुनावी नारा मात्रै हो ?’