
काठमाडौं–निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफूले तिर्नुपर्ने भनिएको पूँजीगत लाभकर बापतको रकम कानून अनुसार नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
एनसेलले सोमवार ठूला करदाता कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
ठूला करदाता कार्यायलयले एनसेलको नाममा ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार रूपैयाँ कर निर्धारण गरी एक साताभित्र दाखिला गर्न पत्र काटेको थियो । एनसेलका कानून अधिकृत रमेश घिमिरेले कर्मचारी प्रसन्न श्रेष्ठलाई वारेस राखेर रिट दर्ता गरेका हुन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको बृहत् पूर्ण इजलासले गएको माघ १२ गते एनसेल र यससँग जोडिएका कम्पनीका तर्फबाट दायर रिट खारेज गर्दै एनसेल र एक्जियटाबाटै लाभकर असुल्न परमादेश जारी गरेको थियो ।
सर्वोच्चको आदेश अनुसार ठूला करदाता कार्यालयले कर निर्धारण गरी एक साताभित्र दाखिला गर्न एनसेललाई पत्र काटेको थियो ।