
काठमाडौं – फिलिपिन्सको उत्तरी भागमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ । दुईवटा भवन भत्किँदा ५ जनाको मृत्यु भएको एक स्थानीय अधिकारीले बताएका छन् ।
पोराक शहरमा भत्केको भवनबाट तीनवटा लाश निकालिएको छ भने लुबाओ शहरमा अर्को भवन भत्किँदा एक वृद्धा र उनको नाति थिचिएर मरेको प्रान्तीय गभर्नर लिलिया पिनेडाले बताएकी छन् ।
‘भूकम्पका कारण विद्युत् आपूर्ति ठप्प भएको छ,’ उनले भनिन् । यसले गर्दा उद्धारकार्यमा कठिनाइ आएको छ ।
भूकम्पको केन्द्रविन्दु जाम्बालेस प्रान्तमा रहेको कास्टिलेजोस शहरमा रहेको फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी यान्ड सीस्मोलोजीले जनाएको छ ।
उक्त क्षेत्रमा रहेको एक एक्सप्रेसवे भत्किएको र पत्थर लडेको खबर छ । एक चर्च र केही घरहरू भत्केका छन् ।
सुनामीको सम्भावना नरहेको तर मानिसले परकम्पको अपेक्षा गर्न सकिने फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी यान्ड सीस्मोलोजीका निर्देशक रेनातो सोलिडमले बताए ।
एजेन्सी