
बुटवल- आर्थिक लेनदेनको विषयलाई लिएर अर्घाखाँचीका एक युवामाथि हत्या प्रयास भएको छ । अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ४ का कैलाश भुसाललाई गाउँकै सुवास भुसालले हत्या प्रयास गरेका हुन् ।
दुई दाजुभाई अर्घाखाँचीबाट बुटवल झर्न भनेर आइतवार पाल्पा हुँदै आउने भनेर मोटरसाइकलमा हिँडे । साँझ पाल्पाको खुसार्ने भन्ने ठाउँमा बास बसे । सोमवार बिहान खुसार्नेबाट हिँडे । पाल्पाको बल्ढेङगढी भन्ने ठाउँमा आएपछि सुवासले थकाइ लाग्यो भनेर बाइक रोक्न लगाए । सडकको डिलका बसेका कैलाशको घाँटीमा खुकुरी हाने । घाटीमा उनको चोट लागेको छ । हातले छेक्न खोज्दा उनको हात काटिएको छ । चुँडिने अवस्थामा हात छ ।
सुवासले कैलाशलाई भने, 'तँलाई मार्छु ।' तर कैलाशले भने, 'मलाई नमार, मलाई तिर्नपर्ने पैसा तिर्न पर्दैन । मलाई पैसा चाहिँदैन, म बाँच्न चाहन्छु। त्यसपछि सुवासको मोबाइलबाट बुटवलको पार्क प्लाजाका होटल सञ्चालक माधव खनाललाई फोन आयो । फोनमा 'मलाई एक जनाले हानेर गम्भीर चोट लागेको छ । मलाई एम्बुलेन्स पठाइदेउ' भनेपछि माधवले एक जना साथीलाई भनेर एम्बुलेन्स पठाए । उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको छ । कैलाश बुटवलमा पार्क प्लाजा होटलमा काम गर्दै आएका बताइएको छ । एम्बुलेन्समा सुवास पनि आएका थिए ।
गम्भीर घाइते कैलाश होसमा छैनन् । उनको बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालमा अप्रेशन शुरू भएको छ’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले भने । आर्थिक लेनदेवको विषयलाई लिएर हत्या प्रयास भएको देखिएको मल्लले जानकारी दिए ।
सुवासले कैलाशलाई ८ लाख रुपैयाँ तिनुपर्ने रहेको बताइएको छ । त्यही पैसा नर्तिन उनले नै घरबाट योजना बनाएर हत्या प्रयास गरेको देखिन्छ ।
कैलाशको बायाँ हात र गर्दनमा गहिरो चोट लागेको छ । हात चुँडिने अवस्थामा छ । उनलाई काठमाडौं लैजाने प्रयास भएको खनालले जानकारी दिए । हत्या प्रयास गर्ने आरोपित सुवास भुसालले नै एम्बुलेन्समा अस्पताल ल्याएको प्रहरीको भनाइ छ । प्रहरीले सुवासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरू गरेको जनाएको छ । सुवास तिलोत्तमामा बिजुली पसलका सञ्चालक रहेको खुलेको छ । प्रहरी नियन्त्रणमा दोभाव प्रहरी चौकीमा राखिएको छ । सुवास रुपन्देहीमा बिजुली पसल रहेको बताइएको छ ।