
काठमाडौं – अघिल्लो वर्ष प्रसिद्ध हास्यकलाकार कपिल शर्मा र सुनिल ग्रोभरबीच भएको झगडाको निकै चर्चा रह्यो । यी दुईबीच झगडा हुँदा उनीहरूका प्रशंसक निकै निराश बनेका थिए ।
तर उनीहरूले आपसी मतभेद बिर्सिएर सँगै स्क्रीन शेयर गर्न सक्ने सम्भावना देखिएको छ ।
सुनिल अब कपिलको शोमा जुन महिनामा देखिन सक्छन् । तर उनी कलाकारका रूपमा नभई गेस्टका रूपमा आउन सक्छन् ।
द कपिल शर्मा शोका सहनिर्माता र बलिउड सुपरस्टार सलमान खानले सुनिल ग्रोभरको कपिलसँगको मनमुटाव अन्त्य गर्नका लागि र जुन महिनामा भारत फिल्मको प्रमोसनका लागि सुनिललाई कपिलको शोमा जान भनेका छन् ।
सुनिलले सलमानसँग भारत फिल्ममा काम गरेका छन् । सलमानको योजनाले काम गरेमा सन् २०१७ पछि सुनिल कपिलसँग उनको शोमा देखिनेछन् ।
कपिल शर्माको शोको दोस्रो सीजन भयंकर हिट भएपछि सुनिलसँग उनको सम्बन्ध सुध्रिएको र उनी छिट्टै शोको एक अंग बन्ने अनुमान गरिएको थियो । तर त्यसो हुन सकेन । तर अब उनीहरू दुवैजना सँगै देखिने खबरले प्रशंसकहरूलाई उत्साहित बनाएको छ ।
भारतमा सलमान र सुनिल बाहेक तब्बु, दिशा पाटनी र ज्याकी श्रोफ प्रमुख भूमिकामा छन् । फिल्म ईदको अवसरमा सिनेमाघरका रिलिज हुँदैछ ।
एजेन्सी