
काठमाडौं – श्रीलंकामा आइतवार गरिएको शृंखलाबद्ध बम विस्फोटबाट स्थानीयहरू स्तब्ध बनेका छन् ।
कोलम्बोको काँठमा बस्ने फातिमा फजला आफ्नो छिमेकी प्रमुख आत्मघाती आक्रमणकारी भएको विश्वास नै गर्न सकिरहेकी छैनन् । माहेवेला गार्डेन्समा बस्ने दाजुभाइले शांग्रिला होटल तथा अन्य एक होटलमा आत्मघाती विस्फोट गराएका थिए ।
उक्त परिवारसँग जोडिएको एक सूत्रले बताएअनुसार, इन्साफ इब्राहिमले शांग्रिला होटलमा आत्मघाती आक्रमण गरेका हुन् । ती ३३ वर्षीय व्यक्ति कपूर कारखानाका मालिक थिए ।
नाम नबताउने शर्तमा एक नातेदारले बताए, आक्रमणको दिन प्रहरीले उनको घरमा छापा मार्दा उनका भाइ इल्हाम इब्राहिमले एक बममार्फत आफू, आफ्नी पत्नी र तीन सन्तानको ज्यान लिए ।
इब्राहिम परिवारको घरनजिकै बस्ने फजलाले भनिन्, ‘हामीहरू त उनीहरू राम्रो मान्छे होलान् भनी सोच्थ्यौं ।’
त्यसो त बम आक्रमण गर्ने दाजुभाइको नाम श्रीलंका प्रशासनले जारी गरेको छैन र प्रहरीले पनि नाम पुष्टि गरेको छैन । तर स्थानीय सञ्चारमाध्यममा आएका रिपोर्टमा उनीहरूको नाम उल्लिखित छ ।
यी दाजुभाइका पिता मोहम्मद इब्राहिमलाई प्रहरीले पक्राउ गरेको छ । इब्राहिम कोलम्बोका धनी व्यापारी हुन् र उनका ६ छोरा र तीन छोरी छन् । इब्राहिमका नातेदार, कर्मचारी र साथीहरूलाई उनको परिवार आक्रमणमा संलग्न रहेको पत्याउनै गाह्रो परिरहेको छ ।
दुई छोरीकी आमा फजला भन्छिन्, ‘यो परिवारले यस्तो काम गरेकोमा मलाई विश्वासै लागिरहेको छैन । यस क्षेत्रमा यो परिवारको ठूलो प्रतिष्ठा थियो किनकि उनीहरू अप्ठ्यारो परेको बेलामा मानिसहरूलाई खानकुरा र पैसा उपलब्ध गराउँथे ।’
आगामी दिनमा गाह्रो स्थिति आउने विषयमा चिन्तित फजलाले घटनापछि सबै मुसलमानलाई शंकाको नजरले हेर्न थालिएको बताएकी छन् ।
परिवारसँग जोडिएको एक सूत्रले भन्यो, ‘३१ वर्षीय इल्हाम एकदमै कट्टरपन्थी सोच पाल्थ्यो र स्थानीय इस्लामिक समूहहरूमा आबद्ध थियो । ऊ खुलमखुला तौहीद जमातको बैठकमा भाग लिएको बताउँथ्यो । पहिला पनि यो संगठनले बम विस्फोट गराएको आरोप छ ।’
तर नातेदारहरूका अनुसार, दाइ इन्साफ नरम मन भएको मानिस थियो र दुःखीहरूलाई सहायता गरिरहन्थ्यो । उसले गहना तथा अन्य व्यापारबाट टन्नै पैसा कमाएको थियो र उसलाई दान गर्न पनि हिचकिचाहट थिएन ।
इब्राहिम परिवारका छिमेकी संजीवा जयसिंघेले आफू अझै पनि स्तब्ध अवस्थामा रहेको बताए ।
श्रीलंकामा इब्राहिम परिवारविरुद्ध ठूलो आक्रोश छ तर केही मानिस उनीहरूको राम्रो कामको याद गरिरहेका छन् ।
इन्साफको कपूर कारखानामा काम गर्ने एक मजदूर भन्छन्, ‘उनी राम्रो मालिक थिए र सधैं अरूको सहायता गर्थे । उनी जस्तो मालिक पाउन मुश्किल छ । म उनीसँग काम गर्न पाउँदा खुशी थिएँ ।’
एजेन्सी