
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिनाभित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन् ।
गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही सम्पदाबाहेक निजी आवास र सरकारी भवन यसअवधिमा निर्माण भइसक्ने बताए ।
‘अबको २० महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसक्छन्,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा कुनै विवाद नझिक्न आग्रह गरे । ‘भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन र हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्नुहुँदैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले नेपालीलाई बहादुरीले मात्र होइन, विद्वताले पनि चिनाउनुपर्ने बताए । ‘नेपाली विद्वान पुर्खाका सन्तान हुन् । हामीलाई संसारले बहादुर भनेर मात्र चिन्यो तर हामीले नेपालाई विद्वानहरूको देश भनेर पनि चिनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, वसन्तपुर क्षेत्रको काष्ठमण्डप लगायतका विभिन्न मन्दिरको निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले वसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरे ।
प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिए ।