
पर्वत- जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् ।
वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा गड्यङगुडुङ गर्न शुरु गरेपछि घरभित्र छिर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।
उक्त गाउँमा वर्षेनी चट्याङका कारण एकदेखि तीनसम्मको ज्यान जाने गरेको छ भने वर्षेनी धेरै पशुधनको समेत क्षति हुने गरेको स्थानीयवासी ठाकुर रसाइलीले जानकारी दिए ।
उक्त गाउँ पर्वतको सबैभन्दा बढी चट्याङ पर्ने गाउँको रुपमा परिचितसमेत रहेको छ । विशेषगरी फागुनदेखि जेठसम्म बढी घटना घट्ने गरेका छन् । अहिलेसम्म झण्डै २० को चट्याङका कारण मृत्यु भइसकेको छ भने घाइतेको सङ्ख्या त्यति नै छ ।
स्थानीय जीतबहादुर विकका अनुसार आकाशमा मेघगर्जन शुरु भएपछि घर वरिपरि मदिरा छर्केर भित्र बस्ने चलनसमेत रहेको छ । मदिरा छर्केपछि चट्याङ नपर्ने परम्परागत मान्यताका आधारमा मदिरा छर्कने गरेकाे उनले बताए । उनले भने, “मदिरा छर्केको दिन चट्याङ नपरेकाले विश्वास लिने गरेका छाैं ।” दलित समुदायको बाहुल्यता रहेको उक्त गाउँमा भूतप्रेत र दैवीशक्तिको पूजामा मदिरा चढाउने प्रचलन रहेको छ ।
बाबुबाजेको पालादेखि नै यस्तै गर्ने प्रचलन भएर आफूहरुले पनि मेघगर्जन शुरु भएपछि मदिरा चढाउने गरेकाे उनकाे भनाई छ ।
अर्का वृद्ध धनबहादुर विश्वकर्माले चट्याङका कारण गाउँमा ठूलो समस्या भएको बताए ।
एउटै गाउँमा वर्षेनी चट्याङ पर्नुको कारण पत्ता नलागेको बताउँदै उनले फलामको धाऊ भएर हो वा अन्य कारणले हो भन्ने पत्ता लगाउन सके सुरक्षित हुन सकिने बताए ।
झण्डै ८० वर्ष अघिसम्म उक्त स्थानमा रहेको फलामखानीबाट फलाम निकाल्ने गरिन्थ्यो । अहिले भने उक्त खानी बन्द रहेको छ ।
समुद्री सतहदेखि दुई हजार फिटभन्दा उचाइमा रहेको उक्त गाउँ जिल्लाकै सबैभन्दा विकट गाउँसमेत हो । पछिल्लो समय नेपाल टेलिकम र एनसेलको टावरसमेत निर्माण भएको उक्त गाउँमा चट्याङका घटना झनै बढ्न थालेको स्थानीयवासीले बताएका छन् । रासस