
वालिङ – जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ ।
थापाको नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको मूल्यवान घर सहितको जग्गा रहेको र जग्गा अरुलाई दिनुभन्दा तपाईंलाई नै दिउँला भनी विभिन्न समयमा १५ जनाबाट रकम लिएपछि यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।
थापा र उनका पति हुमबहादुरले विभिन्न समयमा रकम लिएको र हानी नोक्सानी पुर्याएको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले पति थापालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले भने, ‘खोजतलास गर्ने क्रममा पत्नी थापालाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा थप अुनसन्धानका लागि ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेका छौं ।’ थापा दम्पतीले १५ जनाबाट ३३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको जाहेरी प्रहरीमा रहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।