काठमाडौँ, ६ चैत - महानगरीय अपराध महाशाखाले १२ फागुनमा वैदेशिक रोजगार व्यवसायी प्रेम कटुवाललाई पक्राउ गर्यो ।

कटुवाल पक्राउको कारण धेरैका निम्ति जति अचम्मको विषय थियो, त्यति नै उनलाई लागेको अभियोग । सामाजिक सञ्जाल फेसबुकमार्फत अनेकन आश्वासन दिएर पैसा असुल्ने अन्तर्राष्ट्रिय गिरोहमा कटुवाल संलग्न रहेको महाशाखाको आरोप थियो । कटुवाल पक्राउपछि सामाजिक सञ्जाल र अन्य प्रविधिको प्रयोग गरेर लाखौं रुपैयाँ असुल गर्ने प्रवृत्ति सतहमा आएको छ । तर यस्तै प्रकृतिको मुद्दामाथि निरन्तर अनुसन्धान गरिरहेको अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोका निम्ति यी दुवै नयाँ र नौलो कुरा होइनन् ।
कान्तिपुर दैनिक लेख्छ - केन्द्रीय अनुसन्धान ब्युरोले साउनयता आठ महिनामा मात्रै भर्चुअल ठगीमा संलग्न पाँच फरक घटनाको अनुसन्धान गरिरहेको छ ।
ब्युरोका अनुसार ती ठगीमा मात्रै पीडितहरूले ६४ लाख रुपैयाँ गुमाएको देखिन्छ । महानगरीय अपराध महाशाखामा पनि यही अवधिमा यस्तै प्रकृतिका सात ठगीका घटना दर्ता भएका छन्, जसमा पीडितले ७० लाख रुपैयाँ गुमाएका छन् । अधिकारीहरूको बुझाइ छ, अनुसन्धानका निम्ति प्रहरीकहाँ आएका यी केही प्रतिनिधि घटना मात्रै हुन् ।
महाशाखाकी प्रवक्ता एसपी मीरा चौधरी भन्छिन्,'सामाजिक सञ्जालको प्रयोगमार्फत हुने ठगीका घटना सरुवा रोगझै गाउँ–गाउँसम्म फैलिँदै छन् ।’