०४ साउन २०८३, सोमबार

भूमि व्यवस्था मन्त्रीको ठहर : विष्णुजीको जग्गा कानूनी हिसाबले ठीक छ, प्रचार अतिरञ्जीत !

बैशाख १४, २०७६
भूमि व्यवस्था मन्त्रीको ठहर : विष्णुजीको जग्गा कानूनी हिसाबले ठीक छ, प्रचार अतिरञ्जीत !

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पदमा अर्यालले वालुवाटारको ललिता निवासको जग्गा अतिक्रमणबारे नेकपाका महासचिव विष्णु पौडेलको हकमा भइरहेको प्रचार अतिरञ्जीत भएको बताएकी छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अर्यालले विष्णु पौडेलको छोरा नविन पौडेलले खरिद गरेको जग्गा कानूनी रुपमा ठीकै रहेको बताइन् ।

‘विष्णुजीको जे प्रचार भइरहेको छ, कानूनी हिसाबले हेर्दा त्यसो देखिँदैन । यो अतिरञ्जीत भएको छ,’ उनले भनिन्, ‘जुन जग्गा किन्नुभएको छ, त्यो मोही कायम भएको जग्गा व्यक्तिको नाममा हस्तान्तरण भएको छ । मोहीको अधिकार दिएको छ, पूर्जा प्राप्त गरेको छ । सरकारले नै वैधानिकता प्राप्त गरेको जग्गा हो त्यो । छैठौं मान्छेको रुपमा उहाँले प्राप्त गर्नुभएको छ । मोही कायम भएको जग्गामाथि सम्भवतः प्रश्न उठ्दैन ।’

सरकारले अधिग्रहण गरेर जफत गरेको जग्गा सरकारको नाममै फिर्ता हुने उनले बताइन् । ‘गलत गलत नै हुन्छ, जतिसुकै ठूलो मान्छे भएपनि जग्गा सरकारको नाममा फिर्ता हुन्छ,’ उनले भनिन् ।

जग्गा अतिक्रमणबारे भएको अध्ययन प्रतिवेदनमाथि टेकेर सरकारले निर्णय र निर्देशन गरिसकेको उनले बताइन् । उनका अनुसार अख्तियार, गृह मन्त्रालय र भूमि व्यवस्था कार्यालयले गर्नुपर्ने काम निर्देशन भएको छ । ‘विभिन्न व्यक्तिका कित्ता छन् त्यसमा । कित्ता रोक्का राख्ने प्रक्रिया पनि अगाडि बढेको छ,’ उनले भनिन् ।

ललिता निवास प्रकरणबाट सरकारले शिक्षा लिएको उनले बताइन् । ‘शिक्षा के हो भने देशभर सार्वजनिक, गुठीका जग्गा अतिक्रमण, लापरवाही, कब्जा भए भन्ने गुनासा छन् । छानबिन गरेर सरकारी जग्गा सरकारकै स्वामित्वमा फिर्ता गर्ने हो,’ उनले भनिन्, ‘देशभर छानबिन गर्न मन्त्रालयको प्रस्तावमा एउटा शक्तिशाली आयोग गठन गर्ने तयारीमा हामी जुटेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्