
काठमाडौं– सांसद् एवं उद्योगपति विनोद चौधरीले देश स्थिर सरकार भइसकेकाले अब उद्योगीहरूमा लगानी गर्ने वातावरण सिर्जना भएको बताएका छन् ।
आइतवार त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले कीर्तिपुरमा आयोजना गरेको ‘औद्योगिक क्षेत्र र प्राज्ञिक क्षेत्रको अन्तरक्रिया’ कार्यक्रममा चौधरीले राजनैतिक स्थायित्वले देशमा लगानीको अवसर सिर्जना गर्ने बताएका हुन् ।
उनले देशमा लगानी भएपछि रोजगारीका अवसरहरू सिर्जना हुने बताउँदै देशभर वर्षेनी लाखौंको संख्यामा उत्तीर्ण हुने विद्यार्थीहरूलाई रोजगारी दिन सक्ने उल्लेख गरे ।
विद्यार्थीले सोधेको प्रश्नको उत्तर दिँदै चौधरीले देश संघीयताका गइसकेकाले अब मधेशी, जनजाति, दलितका मुद्धा लगायत धेरै समस्या समाधान हुने बताए । उनले देश स्थायित्वतर्फ उन्मुख भएको र यसले व्यवस्थापनका विद्यार्थीलाई अझ रोजगारी सिर्जना गर्ने धारणा राखे ।

नेपालमा ८० प्रतिशत बजेट व्यवस्थापनमा खर्च हुँदै आएको उनले बताए । उनले भने, '२० प्रतिशत मात्रै विकासमा खर्च भएको अवस्थामा अब यसको विपरीत ८० प्रतिशत विकास खर्चमा बजेट खर्च हुनेमा हामी आशावादी छौं ।'
राजनीतिबाट देश र सबैको ध्यान विकासतर्फ गएको बताउँदै उनले अब रोजगारका अवसरहरू सिर्जना गर्दै मुलुकलाई उन्नतिको बाटोमा डोर्याउने बताए ।
विश्वले अहिले टेक्नोलोजीलाई पछ्याइरहेको अवस्थामा नेपाल पनि त्यसतर्फ लाग्न विद्यार्थीलाई चौधरीले सुझाव दिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका प्रमुख लगायत प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
यस्तै तपाई कसरी सफल हुनुभो भन्ने विद्यार्थीको प्रश्नमा चौधरीले भने–‘ अरूभन्दा केही फरक गर्नुहोस्, तपाईं सफल हुनुहुनेछ । जसको लागि मिहेनतको ठूलो भूमिका हुन्छ ।’

