
काठमाडौं–मुलुकको समृद्धिका लागि नागरिकलाई वित्तीय पहुँचमा पु¥याइ आर्थिक गतिविधिमा संलग्न गराउने सरकारी लक्ष्यअनुसार अहिलेसम्म ७२४ स्थानीय तहमा आठ हजार बढी बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको छ ।
वित्तीय संस्था एकापसमा गाभिई संस्थागत सबलीकरण र सङ्ख्यात्मक व्यवस्थापनमा जोड दिँदै सर्वसाधारणलाई आर्थिक गतिविधिमा संलग्न गराउने उद्देश्यअनुरुप चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा आठ हजार २०५ पुगेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको असारसम्ममा छ हजार ६५१ रहेकामा पुस मसान्तसम्म बढेर सात हजार ५९१ पुगेको थियो ।
औसत प्रतिशाखाले सेवा प्रदान गर्नसक्ने जनसङ्ख्या तीन हजार ५६० रहेको जानकारी दिँदै बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खाताको सङ्ख्या दुई करोड ५७ लाख नाघेको बताए ।
दल दर्ता प्रक्रियामा सीके राउत
जनमत पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष सीके राउत सहित केन्द्रीय कमिटीका ३५ जना सदस्य पुगेर दल दर्ताका लागि निवेदन दर्ता गराएका हुन् ।
जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहका अनुसार आइतवार साढे ३ बजेको समयमा आयोगको कार्यालयमा निवेदन दर्ता गरिएको हो ।
आयोगले दल दर्ताका लागि मागेको ५ सय जना नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित नामावली बुझाइएको सिंहले बताए ।
दल दर्ताका लागि प्रक्रिया शुरू भएकाले आयोगले छानबिन गरेर दल दर्ताको प्रमाण पत्र दिनेछन् । औपचारिक रुपले आवश्यक पर्ने सबै कागजात समेत बुझाइएको सिंहले बताए ।
काठमाडौँमा ४५० कित्ता जग्गा रोक्का
भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले दुरुपयोग गरिएको सरकारी जग्गाको अनुसन्धान गरी सरकारको अधिनमा ल्याउने उद्देश्यले काठमाडौँमा करीब ४५० कित्ता जग्गा रोक्का गरेको छ ।
डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्वराज मरासिनीको संयोजकत्वमा मन्त्रालयले एक साताअघि गठन गरेको कार्यदलको सिफारिसका आधारमा जग्गाको कित्ता रोक्का गरिएको हो । मन्त्रालयका सचिव गोपिनाथ मैनालीले विभिन्न व्यक्ति, उद्यमी, राजनीतिकर्मीका आफन्तका नाममा राखिएका ती जग्गाका कित्ता रोक्का भएसँगै अब किनबेच नहुने बताए । कार्यदलले बालुवाटारको ललिता निवासलगायत अन्य केही स्थानको अध्ययन गरी सिफारिस गरेको थियो । गुठी तथा सरकारी स्वामित्वमा रहेका जग्गा जमीन व्यक्तिगत रुपमा खरीद बिक्री भएको पाइएपछि मन्त्रालयले काठमाडौँ उपत्यकाका विभिन्न मालमोत कार्यालयमा अनियमितताका फाइलको खोजी शुरु गरेको हो ।
देशभर भूमि व्यवस्थापनका लागि शक्ति सम्पन्न आयोग गठन गर्ने तयारी गरेसँगै सरकारी तथा सार्वजनिक जग्गालाई बदनियतपूर्ण तरीकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका भूमाफिया, कर्मचारी, राजनीतिज्ञलगायतको खोजी गरी आवश्यक कारवाही गर्न सरकारले पहल गरेको छ । राज्यको समृद्धिका लागि भूमि स्रोतको उपयोग तथा व्यवस्थापन गर्न नयाँ बन्ने आयोगले काम गर्ने छ । प्राकृतिक स्रोतको रुपमा रहेको भूमिमा राज्यको अग्राधिकार राज्यद्वारा तोकिए बमोजिम नागरिकले यसको उपयोगको अधिकार राख्ने भए पनि सरकारले आवश्यक ठहराएको अवस्थामा व्यक्तिका नाममा रहेका जग्गा जमीनसमेत अधिग्रहण गर्न सकिने व्यवस्था छ ।
नेता नेपाल स्वदेश फिर्ता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल छिमेकी चीनको बेइजिङमा भएको दोस्रो ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ का लागि अन्तर्राष्ट्रिय सहायता फोरममा भाग लिई आइतबार स्वदेश फर्किएका छन् ।
स्वदेश फर्केपछि नेता नेपालले आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रभाढ भएको र नेपालप्रति चिनियाँ नेताको सद्भाव देखिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
यातायात विधेयक स्वीकृत गर्ने निर्णय
प्रदेश नं ५ सरकारले सवारी यातायात तथा परिवहनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार विकास समितिको प्रस्तावमा प्रदेशको सवारी यातायात तथा परिवहनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै मन्त्रिपरिषद्को बैठकले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटालाइ कृषि निर्देशनालयमा तथा मन्त्रालयको सचिवमा बैकुण्ठ अधिकारीलाई पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।
घुस दिन खोज्नेमाथि मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतको राजधानी नयाँ दिल्लीबाट आएको बसमा तस्करी गरेर ल्याएको सामान छुटाउन घुस दिन खोज्ने तीन जनाविरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ ।
नयाँ दिल्लीबाट नेपालगञ्ज हुँदै गत चैत ३० गते काठमाडौँ आएको ना५ख ४८४२ नम्बरको यात्रुवाहक बसले भन्सार छली गरेको सामान ल्याएको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको थियो । प्रहरीले काठमाडौँ महानगरपालिका–१५ चमतीबाट उक्त बसलाई जाँच गर्दा राजश्व छलीका सामानसमेत फेला परेका थिए । राजश्व छली गरेर ल्याएको सामान छुटाउनका लागि बसका चालक श्याम विश्वकर्माले रु तीन लाख, दिपा राना र भरत तामाङले र ५० हजार गरी रु तीन लाख ५० हजार घुस दिन खोजेका थिए ।
रेल विभागको जग्गा फिर्ता
जताततै सरकारी जग्गा अतिक्रमण भइरहेको खबर सार्वजनिक भइरहेको बेला धनुषा जनकपुर नगरपालिका–१ मा रहेको आठ कट्ठा १० धुर जग्गा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल्वे विभागको नाममा कायम भएको छ ।
सर्वोच्च अदालतको आदेशानुसार भूमि सुधार तथा मालपोत कार्यालय धनुषाको यही वैशाख १२ गतेको पत्रबाट उक्त जग्गा रेल विभागको नाममा कायम हुन पुगेको हो । धनुषा जनकपुर नगरपालिका–१ सिट नं. १३५६–१३ कित्ता नं १५७ र १५८ र सोही सिटको १३५६–०८ कित्ता नं. ३४७ र ३४८ गरी कूल दुई हजार ८८०.५६ वर्ग मिटर जग्गा विभागको नाममा आएको विभागका प्रवक्ता अमन चित्रकारले राससलाई जानकारी दिए ।
तीन सम्झौतामा हस्ताक्षर
नेपाल–चीन व्यापार तथा आर्थिक मञ्च (नेपाल चाइना इकोनोमिक एण्ड ट्रेड फोरम) मा बिहबिार नेपाल तथा चीनका विभिन्न पक्षबीच तीन सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो हस्ताक्षर नेपाल लगानी बोर्ड तथा इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच सहयोगको संरचनाका विषयमा भएको थियो ।
दोस्रो हस्ताक्षर नेपाल ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी र इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच सोही विषयमा भएको थियो । तेस्रो हस्ताक्षर चाइना ओभरसिज डेभलपमेन्ट एसोसिएशन तथा नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच सझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
सङ्घीय संसद्को चौथो अधिवेशन
सङ्घीय संसद्को चौथो अधिवेशनका लागि प्रतिनिधिसभामा कूल २७ विधेयक प्रस्तुत गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको विधेयक शाखामा दुई विधेयक चौथो अधिवेशनका लागि दर्ता भएको छ ।
अधिवेशन सोमबारदेखि शुरु हुने छ ।
संसद्मा दर्ता भई हाल विचाराधीन अवस्थामा रहेका विधेयकको सङ्ख्या ३० रहेको छ । संसद्को गत हिउँदे अधिवेशनले १४ विधेयक पारित गरेको थियो । हिउँदे अधिवेशनमा संसद्मा दर्ता भएका विधेयक पनि ३० नै थिए । वर्तमान सरकार गठन भएपछि ३७ ऐन जारी भएको छ । यसबीचमा आठ अध्यादेशसमेत जारी भए । विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि १२७ ऐन बनिसकेका छन् ।
दुई ब्रमुर खरीद गर्दै ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरीद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि बु्रमर खरीद प्रक्रिया अघि बढाइएको हो ।
ब्रमुर खरीदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्विट्रल्याण्डमा बनेको बु्रमर खरीद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।
नेपालले मलेसियालाई हराउँदै उपाधि जित्यो
नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ ।
थाइल्याण्डको चियाङमाईमा बिहीबार भएको फाइनल खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै नेपालको यो लगातार दोस्रो उपाधि हो । गत संस्करणमा भएको फाइनलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई जितका लागि १४१ रनको चुनौती दिएको थियो । जवाफमा मलेशिया ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटियो ।
मलेशियाका लागि वान महमद अजमले सर्वाधिक १६, महमद हाजिक आइमनले १८ तथा जिनेन्द्र मुरालेले १४ रन बनाए । मलेशियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विशालकुमार पटेल एक्लैले चार विकेट लिए भने दीपक बोहोराले तीन विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै दीपक बोहोराले २३, कप्तान विशालविक्रम केसीले १७ तथा निखिलकुमार सिंहले १३ रन जोडे ।
बलिङतर्फ मलेशियाका सचिनु हित्तेजले तीन तथा जिनेन्द्र मुरालेले दुई विकेट लिए । समूह चरणको खेलमा पनि नेपालले मलेशियालाई ३९ रनले पराजित गरेको थियो । प्रतियोगितामा सिङ्गापुर तेस्रो स्थानमा रह्यो ।
नेपाल उज्वेकिस्तानसँग पराजित
म्यानमारमा जारी एएफसी उन्नाइस वर्षमुनी (यू–१९) महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा भएको खेलमा नेपाल उज्वेकिस्तानसंग ४–० गोलअन्तरले पराजित भएको हो ।