
कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा आइतवार राति आगलागी हुँदा ७ लाख ५० हजार रुपैयाँ बढीको क्षति भएको छ ।
ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार चुलोबाट सल्केको आगोले लत्ताकपडा, भाँडाकुँडा, भण्डारण गरेको अन्न, कागजात र घर पूरै जलेर नष्ट भएको छ । घरको चुलोमा खाना बनाएर कोइला ननिभाउँदा त्यसबाटै घरमा आगो लागेको हुनसक्ने प्रहरी निरीक्षक अवस्थीले बताए ।
‘खाना खाएर लुहार परिवार अर्कैको घरमा सुत्न गएका रहेछन्,’ उनले भने, ‘राति घरमा छिकेकीले आगो दन्केको देखेपछि उनलाई खबर गरेपछि आगो निभाउने प्रयास गरियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा २ घण्टापछि आगोमाथि नियन्त्रण कायम गर्न सकियो ।’
लुहारको घर पूरै जले पनि आगोमाथि नियन्त्रण गरिँदा छिकेकीका घर भने आगलागीबाट जोगिएका छन् ।
रुखबाट खसेर मृत्यु
कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाइका अन्दाजी ४८ वर्षीय लोकबहादुर देउवाको रुखबाट खसेर आइतवार मृत्यु भएको छ । ग्वासी समैजी सामुदायिक वनमा वन मौरी (भेरी) को मह निकाल्ने क्रममा देउवाको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरीक्षक भरत धामीले बताए ।
राति ८ बजे देउवा रुखबाट खसेका हुन् । शव अहिले सामुदायिक वनमै रहेको छ ।