१८ असार २०८३, बिहीबार

सिँचाइका ४१ आयोजना रुग्ण, २०६९ सालमै सक्नुपर्ने काम अलपत्र

बैशाख १६, २०७६
सिँचाइका ४१ आयोजना रुग्ण, २०६९ सालमै सक्नुपर्ने काम अलपत्र

काठमाडौं – जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत सिँचाइका ४१ वटा आयोजनालाई रुग्ण घोषणा गरेको छ ।

ठेक्का सम्झौताअनुसार २०७४ सालभित्र सम्पन्न हुनुपर्ने तर सम्पन्न नभएका विभिन्न ४१ वटा ठेक्कालाई रुग्ण घोषणा गरेको हो ।

यसअघि गत माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभाग अन्तर्गत सञ्चालित २ सय ३५ आयोजनालाई रुग्ण घोषणा गरेपनि विभाग आफैंले ४१ योजनालाई मात्रै रुग्ण घोषणा गरेको हो ।

ठेक्का सम्झौताको म्याद समेत सकिएको र नयाँ ठेक्का सम्झौता समेत नविकरण नभएका कारण रुग्ण घोषणा गरिएको जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ ।

विभागका अनुसार नदी नियन्त्रण कार्यक्रम अन्तर्गत महोत्तरीमा मात्रै ३ वटा आयोजना रुग्ण अवस्थामा रहेका छन् । जनताको तटबन्ध कार्यक्रम २ नम्बर फिल्ड कार्यालयका ३ वटा आयोजना अलपत्र रहेका र नयाँ ठेक्का सम्झौता पनि नविकरण नभएका कारण रुग्ण घोषणा गरिएको विभागले जनाएको छ ।

जनताको तटबन्ध कार्यक्रम अन्तर्गत नदी नियन्त्रणका लागि सिँचाइ विभाग र आशिष कन्सट्रक्सनबीच २०६८ फागुन ४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०६९ पुस १५ गते काम सम्पन्न हुनुपर्ने भएपनि हालसम्म सम्पन्न नभएको विभागले जनाएको छ ।

विभागका अनुसार धनुषाको कमला नदी नियन्त्रण आयोजना, सर्लाही तथा रौतहटको बागमती तथा लालबकैया नदी निन्त्रण आयोजना, सुर्खेतको घाटगाउँ सिँचाइ आयोजना, कालिकोटको सुटकिया उपआयोजना, घुन्खया उपआयोजना र खातिकुलो सिँचाइ आयोजना लगायतका अन्य आयोजना समेत रुग्णको सूचीमा रहेका छन् ।

धनुषा, सर्लाही, रौतहट, सुर्खेत, कालिकोट, दैलेख, कैलाली, रुपन्देही, कञ्चनपुर, सुनसरी, बाँके, बर्दिया लगायतका जिल्लामा विभिन्न सिँचाइका आयोजना निर्माणका लागि सरकार र ठेकेदारबीच भएको सम्झौता अनुसार काम सम्पन्न नभएको जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ ।

विभागले रौतहट र सर्लाहीको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना निर्माणका लागि ‘जगत निर्माण सेवा’ कम्पनीसँग २०६७ साउन २ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार आयोजनाको काम २०७४ असार ५ गते सकिनुपर्ने हो । आयोजनाको प्रगति ४८ प्रतिशत मात्रै भएको तथा मुआब्जा विवाद रहेको र समस्या सल्टाउने प्रयास भइरहेको विभागले जनाएको छ । ‘बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको मुआब्जा दिइसकिएको, मुआब्जा वितरणमा चित्त नबुझेकाले विवाद रहेको र विवाद सल्टाएर काम गर्ने वातावरण बनाउने प्रयास भइरहेको छ,’ विभागले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।

विभागले अन्य कतिपय आयोजनाको काम समेत सम्झौता अनुसार नभएपछि ठेकेदारको धरौटी जफत गरिएको र ठेक्का सम्झौता समाप्त गरेको उल्लेख गरेको छ । धरौटी जफत हुने ठेकेदारमा ललितपुरको इभान्शुइभा भाग्मानी जेभी रहेको छ । कतिपय आयोजनालाई प्रदेश अन्तर्गत हस्तान्तरण गरिएको समेत विभागले जनाएको छ ।

यसअघि गत माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतका १८ अर्ब ६६ करोड रुपैयाँ बराबरका विभिन्न आयोजनालाई रुग्ण घोषणा गरेको थियो । अख्तियारले २०७५ मंसिरसम्म काम सम्पन्न नभएका र ठेक्का सम्झौता समेत नविकरण नभएका आयोजनालाई रुग्ण घोषणा गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्