३१ असार २०८३, बुधबार

स्वास्थ्यचौकीमा औषधि अभाव, बिरामी क्लिनिक धाउन बाध्य

बैशाख १६, २०७६
स्वास्थ्यचौकीमा औषधि अभाव, बिरामी क्लिनिक धाउन बाध्य

लहान- सिरहाको लक्ष्मीपुर गाउँपालिका ६ स्थित सीतापुर स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ ।

मौसम परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला अत्यावश्वक औषधि अभाव भएपछि बिरामी निजी क्लिनिक धाउन बाध्य भएका छन् । विगत ६ महिनादेखि गाउँपालिकाले औषधि खरीद गरी आपूर्ति गर्न नसक्दा सीतापुर स्वास्थ्यचौकीमा औषधिको चरम आभाव भएको हो । 

विगत एक सातादेखि ज्वरोले थलिएका सीतापुरका सहदेव साह उपचारका लागि स्वास्थ्यचौकी धाउँदै आए पनि औषधि नरहेको भन्दै स्वास्थ्यकर्मीले रित्तै फर्काएको गुनासो गरे । 

अहिले शरीरमा चोट लाग्दा लगाउने बेटाडिनदेखि घाउ पुछ्ने कपास र ब्याण्डेजसम्म नरहेको स्वास्थ्यचौकी सीतापुरका प्रमुख चन्द्रप्रकाश पण्डितको भनाइ थियो । उनका अनुसार रुघाखोकी, ज्वरो, झाडापखाला तथा निमोनियाँका बिरामीलाई चाहिने पारासिटामोल, जीवनजलदेखि अधिकांश एण्टिबायोटिक्स स्वास्थ्यचौकीमा छैन ।

अहिले दैनिक २०-२५ जना बिरामी उपचारका लागि आउने गरे पनि औषधि अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । लक्ष्मीपुर पतारी गाउँपालिकाको स्वास्थ्य संयोजक शिवकुमार यादवले औषधि खरीद गरेर पठाउने तयारी भइहरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्