काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले १४ महिनामा देखाउन लायक एउटा पनि काम नगरेको आरोप लगाएका छन् ।
संसदको बर्खे बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै देउवाले सरकारले झूट प्रचार गर्ने सिवाय अरु केही नगरेको आरोप लगाएका हुन् ।
‘सरकारले झूट प्रचार गर्नेबाहेक केही गर्न सकेको छैन,’ देउवाले भने, ‘संवैधानिक मूल्य र मान्यता विपरीत चलेको यो सरकारले प्रजातन्त्रको खुशी खोसेको छ र विकासका दृष्टिले पनि हामी पछि परेका छौं ।’
देउवाले तराईमा मात्र नभएर नागरिकताको समस्या पहाडमा पनि रहेको बताए । ‘संवैधानिक व्यवस्था अनुरुप कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नहुने कुराको सुनिश्चितता हुनुपर्छ,’ उनले भने, ‘तराईमा मात्र होइन, हिमाल पहाडमा पनि नागरिकताविहीन नागरिकहरू छन् । सरकारले संवैधानिक व्यवस्था अनुरुप यसको हल गर्नुपर्छ ।’
न्याय र सुशासन कायम गर्न नसकेका कारण सरकारकै नियतमाथि प्रश्न उठेको उनले आरोप लगाए ।