
काठमाडौं – अफ्रिकी मुलुक बुर्किना फासोमा पहिलोपटक जिहादी आक्रमण भएको छ । आइतवार बन्दूकधारीहरूले चारजना भक्त र एक पादरीको हत्या गरेको सुरक्षा स्रोतले जनाएका छन् ।
उत्तरी क्षेत्रको सिल्गाजी नामक स्थानमा आक्रमण भएको हो । दुई अन्य व्यक्ति हराइरहेको बताइएको छ ।
‘अज्ञात सशस्त्र व्यक्तिहरूले सिल्गाजीमा रहेको एक प्रोटेस्टेन्ट चर्चमा आक्रमण गरेर चारजना भक्त र मुख्य पादरीको हत्या गरेका छन्,’ एक सुरक्षा स्रोतले एएफपीलाई बताए ।
बुर्किना फासोमा जिहादी हिंसा चर्किएदेखि चर्चमा पहिलोपटक आक्रमण भएको हो । मुसलमान धर्मगुरु र इमामहरूलाई पनि तारो बनाइएको छ ।
‘आक्रमण दिउँसो १ बजे भएको हो । प्रार्थना सकिएपछि भक्तहरू चर्चबाट निस्कँदै गर्दा आक्रमण गरिएको थियो,’ पहिचान खुलाउन नचाहने एक चर्च सदस्यले एएफपीलाई बताए ।
‘आक्रमणकारीहरू मोटरबाइकमा आएका थिए । उनीहरूले पहिला त हावामा गोली हानेको भए पनि पछि भक्तहरूलाई ताके,’ प्रत्यक्षदर्शीले बताए ।
बुर्किना फासोमा हालैका दिनमा विभिन्न जिहादी समूह अनसरुल इस्लाम समूह, ग्रूप टु सपोर्ट इस्लाम यान्ड मुस्लिम्स र इस्लामिक स्टेट इन द ग्रेटर सहारा लगायतले लगातार खतरनाक आक्रमण गर्दै आएका छन् ।
एएफपीबाट